२०८२ भाद्र २ गते सोमवार
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक स्थगित गरिनु गलत भएको बताएका छन्।
समितिका सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरे। ‘परीक्षा सञ्चालनका लागि सरकारले तत्काल सबै विद्यार्थीलाई आवश्यक कोरोना खोपको व्यवस्था गर्नुपर्छ,’ पोखरेलले भने।
समितिका सभापतिसमेत रहेकी सांसद जयपुरी घर्तीले विना विकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन्। उनले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशनसमेत सरकारले पालना नगरेको आरोप लगाइन्।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटक–पटक रोक्ने काम नगर्न सरकारलाई आग्रह गरे। यसप्रति उनले कोरोना रोकथाम तथा सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को भूमिका प्रभावकारी नभएको आरोप लगाए। ‘एमसीसीले विद्यार्थीहरूलाई आतङ्कित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गर्न भूमिका खेल्दै आएको छ, यो गलत छ,’ उनले भने।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको बताए। ‘हामी चरणबद्ध रूपमा भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार छौँ,’ उनले भने, ‘परीक्षा नगर्नू भनेर एमसीसीले भनेपछि हामीले स्थगित गरेका हौँ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij