२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने माग गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ ।
विकास बैंकले पनि सहायक कम्पनी खोलेर धितोपत्र दलाल व्यवसायीको काम गर्न दिनुपर्ने मागसहित डेभलपमेन्ट बैंकर्स एसोसिएसनले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको जनाएको छ ।
“धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानुनबमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ,” भन्ने व्यवस्था रहेको छ,” डेभलपमेन्ट बैंकर्स संघले भनेको छ ।
सोही ऐनलाई कार्यान्वन गर्न बनेको धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, नियमावली–२०६४ को दफा ७ को १ ले प्रचलित कानुनबमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तीमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ भन्ने उल्लेख छ ।
सोही आधारमा विकास बैंकहरूले पनि आफ्ना सहायक कम्पनीहरूमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति प्रदान गर्नुपर्ने मागसहित डेभलपमेन्ट बैंकर्स संघले बोर्डलाई पत्र लेखेको जनाइएको छ ।
राष्ट्रियस्तरका विकास बैंकहरूको औसत चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ नाघिसकेको र विकास बैंकहरूले एक हजार बढी शाखाबाट करिब ४१ लाख खातावालाहरूलाई बैंकिङ सेवा प्रदान गर्दै तीन लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका एसोसिएसनले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij