२०८२ भाद्र ३ गते मंगलवार
डोटीमा स्थानीय पर्व तथा चाड नजिकिएको र कोरोना जोखिम बढ्न सक्ने जनाउँदै त्यहाँको स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा अब एक महिनासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाअनुसार आज मध्यरातबाट लागू हुने निषेधाज्ञा यही भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने भनिएको छ ।
यसैगरी बजार–पसल बिहान ५ देखि बेलुकी ५ बजेसम्म मात्रै खुल्ने भएका छन् । यसैगरी होटेल तथा रेस्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । स्थानीय मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने पूर्ण रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “जिल्लामा स्थानीय चाडबाड नजिकिएका र कामका लागि भारत गएका नागरिकहरु पनि फर्किने समय भएकाले बढी भीडभाड हुँदा कोरोना जोखिम बढ्न सक्ने भएकाले हामीले निषेधाज्ञामा केही कडाइ गरेका छौँ, नियमको सबैले पालना गर्नु जरुरी छ ।”
यसैगरी कोरोना सङ्क्रमणको खतरा हुने तथा भीड लाग्ने शपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल तथा पुस्तकालय भने खोल्न रोक लगाइएको छ ।
कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञा आज १३औँ पटक थप भएको हो । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी साधन भने सञ्चालन गर्न अनुमति दिइएको छ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । यसअघिसम्म बजार–पसल साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइएको भने पनि अब उक्त समय घटाइएको छ ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण दर घटेको तथ्याङ्कमा देखिए पनि यहाँ स्थानीय चाडबाड आएकाले सङ्क्रमणको खतरा बढ्नेतर्फ सजगता अपनाउँदै निषेधाज्ञामा केही कडाइ गरिएको निमित्त प्रजिअ जोशीले जानकारी दिनुभयो कोरोनाबाट हालसम्म जिल्लामा ११ को मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij