२०८२ भाद्र ११ गते बुधवार
काठमाडौ । इसेवा प्रयोगकर्ताहरुले भाइबरबाटै मोबाइल टपअप र पैसा पठाउन सक्ने भएका छन् ।
इसेवा र राकुटेन भाइबरले बुधबार उक्त सेवाको औपचारिक घोषणा गरेका छन् । इसेवा प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा रहेको भाइबर एपमा गइ पैसा पठाउन वा मोबाइल टपअप गर्न सक्ने छन् ।
भाइबर एप खोली प्रयोगकर्ताहरुले जीआइएफ अप्सनमा गइ एक्स्टेन्सन्समा रहेको इसेवाको आइकन छनोट गर्नु पर्नेछ । त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो इसेवा आइडीलाई आफ्नो भाइबर एकाउन्टसँग लिंक गर्नुपर्ने इसेवाले जनाएको छ ।
इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताहरुले त्यहीबाट नयाँ खाता खोल्न सक्नेछन् । प्रयोगकर्ताहरुले इसेवा आइडी र पासवर्ड हालेर इसेवा खाता भाइबरसँग लिंक गर्न सक्ने बताइएको छ । लगइन गरेपछि प्रयोगकर्ताहरुलाई इसेवाले सम्बन्धित फोन नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) पठाउँछ । त्यसपछि प्रयोगकर्ताहरुले सर्तहरुमा सहमति जनाएर ओटीपी हालेर भाइबरसँग इसेवा खाता लिंक गर्न सक्ने छन् ।
इ–सेवा अकाउन्ट भएका ग्राहकले भाइबर अकाउन्ट लिंक गरेर पैसा पठाउन वा टपअप गर्न सकिनेछ । बुधबार म्यासेजिङ एप भाइबर र मोबाइल वालेट इसेवाले इ–सेवा भएको अकाउन्ट एक पटक भाइबरमा लिंक गरेपछि कसैलाई पैसा पठाउन वा मोबाइल रिचार्ज गर्न सकिने इ–सेवाका रोशन लामिछानेले बताए ।
भाइबरका तर्फबाट ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले एसिया प्यासेफिक रिजनमा इसेवासँग पहिलो सम्झौता भएको बताइन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij