२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले बिक्री गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये दुई हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ ।
सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरिएको बाहेक सर्वसाधारणको लागि बिक्री खुला गरिएको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले बाँडफाँड भएको छ । जसमध्ये ६ जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् । योग्य आवेदकमध्ये १९ लाख ९९ हजार ४९३ जना आवेदकलाई भने सेयर नपरेको हो ।
कम्पनीले यही साउन १४ देखि १८ गतेसम्मम प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा सात लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
हाल २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ बिक्रीपश्चात् चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा हेर्न भने अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij