२०८२ भाद्र २ गते सोमवार
जीवनमा सत्य बुझ्न धेरै कठिन छैन । बस्, ‘जुन तुलोमा अरूलाई तौलिने गरिन्छ, त्यही तुलोमा आफूलाई कहिलेकाहीं तौलिइयो भने थाहा भइहाल्छ ।’ भन्ने कहावत सर्वश्री ओली अर्थात् निवर्तमान शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका हकमा चाहिँ लागू भएन वा हुनसकेन । केही दिन अघि कठोर युद्धका विजेता झैँ दिग्विजयको भावमा उनको राजसी फिर्ती भइरहेको थियो, बालुवाटारदेखि बालकोटसम्म । अत्यन्तै निकट ठानिएका भित्रियाद्वारा प्रायोजित भव्य प्रहसन र विशाल तामझाम हेर्दा अनुभूत हुन्थ्यो उनले सर्वोत्कृष्ट उपलब्धि हासिल गरे आफ्नो कार्यकालमा जो देश र जनताले यसअघि कहिल्यै देखेका त के सुनेका समेत थिएनन् । धिमेबाजाको मधुर धुन, केपीबा – जिन्दावाद ! का लय मिलेका उनका निम्ति श्रुतिमधुर नारा, सडकका दुवैतर्फ दर्कने पानीमा भिजाउँदै उभ्याइएका सर्वसाधारण, विरोधी र आफ्नै सहकर्मीका पुतला दहन गर्दा पुत्ताएको धुवाँको कुहिरीमण्डल, निरो झैँ मुस्कुराइरहेको बाको हंसमुख मुहार– अद्वितीय थिए तमाम झाँकीहरू । ऐतिहासिक थियो वातावरण । कृष्णप्रसाद भट्टराईको सुराही, छाता र ट्याङ्का, सुशील कोइरालाको सादगी र अन्य सबैजसो सरकार प्रमुखलाई सम्झन पुगे सामान्यजनले त्यो तमासा नजर लगाइसकेपछि । अझ बार्दलीमा अवतरणपश्चात् ‘बाँचे एकै डाँडामा, मरे एकै खोलामा‘को कसम खाएका आफ्ना पूर्वसहकर्मी तथा कसैका मामुली कार्यकर्ता (?) लाई लाजसरम नभएको ‘गद्दार‘शब्द प्रहारले निकै रौस्याएको थियो अनुचरहरूलाई । अतः गरमागरम थियो बालकोटको माहोल उक्त दिन । गतिमा थिए निवर्तमान सरकार प्रमुख, अग्रगतिलाई चटक्क बिर्सिए पनि !
चल्लाभन्दा हल्ला ठूलो
अङ्क गणितमा दुई तिहाइ बेसी अर्थात् १८१ जनप्रतिनिधिको प्रत्यक्ष साथ र १७ जनाको बाह्य समर्थन थियो उनलाई, सरकार गठन गर्दाताक । दुई तिहाइ बेसी बहुमतप्राप्त सरकार प्रमुख यतिखेर ८२ जनाको समर्थनमा खुम्चिँदा पनि दिग्विजय गरेकै अनुभूत भइरहेथ्यो उनी र उनका आसेपासेलाई । पार्टी छिन्नभिन्न भएको दोष अर्कालाई पन्छाएर विद्युतीय तथ्याङ्क र कागजी योजनालाई अघि सार्दै सर्वाधिक सफल सरकार प्रमुख दरिने उनको मनोकाङ्क्षा विचित्रको थियो, छ ।
न्यायालयलाई ललकारेर, न्यायमूर्तिलाई ‘घाँस खाएर फैसला गरेको’ करार गरेर, आफ्ना तमाम असंवैधानिक कुकर्म र अध्यादेशबाट मुलुक चलाउने भोकलाई डोकाले छोप्न खोज्दै छन् उनी । आफ्ना किर्ते कामका साक्षी न्यायालय बसेन भन्दै न्यायमूर्तिको पुतला दहन गर्नु कति सान्दर्भिक होला, यो संविधान र राज्य व्यवस्थालाई नै सर्वोत्तम ठान्नेहरूका निम्ति ? ‘भाइ पर, भँडुवा वर’ भन्ठान्ने पूर्व राज्यसारथिले मनन गर्नै पर्ने विषय होइन र ? कि म मुनि भए पनि मेरा खुट्टा त माथि नै छन् भन्ने लागेको हो ?
विधि र विधानभन्दा सनक र तिगडमलाई अनुशरण गर्ने ओलीको तारो न्यायमूर्तिमात्र बनेका भने होइनन् । चाहे बुद्धिजीवी हुन् वा पत्रकार, नागरिक समाज होस् वा तथ्यलाई आत्मसात् गर्ने विद्वान् – उनका नजरबाट यी सबै सधै दुश्मन नै देखिए । ‘पानीमा बसी गोहीसँग बैरभाव’ भनेझैँ एमालेमा बसेर पार्टी निर्माणकर्ताहरूलाई ललकारिरहे उनले । भिन्न मतलाई उपेक्षित गरिरहे, आसेपासेलाई रिझाइरहे । अन्ततः उनले भन्ने गरेको जनादेश ‘न बाँसको बलो, न केराको हलो’ बन्न पुग्यो ।
उत्तरको ताक पूर्वको दौड
मान्छेलाई भ्रममा राख्न र विषयान्तर गर्न माहिर खेलाडी हुन् ओली । जति वेला समाजवादको कुरा उठ्थ्यो, चुच्चे नक्शाका विषय निस्कन्थे, पार्टी सञ्चालनमा विधि र पद्धति मिचेका घटना सार्वजनिक हुन्थे त्यतिवेला उनी राममन्दिरका कुरा निकालेर मूल विषयवस्तुबाट मान्छेलाई भट्काउन प्रयत्न गर्थे । अहिले एकातिर म दोस्रो अध्यक्ष दिन तयार हुँदा पनि माधवकुमार नेपाल मानेनन् भनेर सञ्चारमाध्यममा सार्वजनिक खपतको विषय बनाइरहेछन् भने अर्कातिर पुत्ला दहन, नेपालविरूद्ध निकृष्ट नाराबाजी गर्न कार्यकर्तालाई खटाइरहेका पनि छन् । बाँदरे प्रवृत्तिको साङ्केतिक प्रहसनमा पनि आफ्ना अनुचरलाई अह्राइरहेछन् । अदालतको फैसलालाई जतिसुकै अप्रिय हुँदा पनि सम्मान गरेको बताइरहेछन् , न्यायमूर्तिका पुत्ला दहन गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेछन् । राजनीतिलाई अदालतको परिसरमा पनि बुझाइरहेछन्, अदालतलाई राजनीतिक मुद्दामा हात नहाल्न आदेश पनि दिइरहेछन् । हुँदाहुँदा गद्दार करार गरेका विपक्षीका मामुली कार्यकर्तालाई सर्वोच्च पदमा आसीन गराउन यिनै किन यतिसारो मरिहत्ते गरेको नौटङ्की पनि गरिरहेछन् ? हिजो नेकपामा दोस्रो अध्यक्षको हविगत बनाइदिन वा उनलाई पदलोलुप चित्रित गराइदिन ? अधिकारविहीन बनाएर खोइ के गर्न सके त भनेर थप नङ्याइदिन ? वा नेपालका निकटवर्तीलाई देख्यौ मेरो विरोध गर्नेको हविगत कस्तो हुन्छ, भनेर देखाइदिन ?
निदान होइन व्यवधान, समष्टि होइन व्यष्टि, मार्क्सवाद होइन हिन्दुवाद, राष्ट्रवाद होइन उग्र राष्ट्रवाद र अन्ध राष्ट्रवादलाई शासकीय मूलमन्त्र बनाउनुपर्नेमा विश्वास गर्थे,गरिरहेछन् र गरिरहनेछन् ओली जसरी अमेरिकामा डोनाल्ड ट्रम्पले, भारतमा नरेन्द्र मोदीले, रूसमा भ्लादिमिर पुटिनले, हङ्गेरीमा भिक्टोर अर्बानले, टर्कीमा रजेप तैयप एर्दोगानले र ब्राजिलमा जाइर बोल्सोनारोले गरे । किनकि उनीसँग अब समाज परिवर्तन मार्क्सवादले गर्छ भन्ने बुझाइबाट कोसौं टाढा पुगिसकेका छन् ।
भीख पनि माग्नु, सेखी पनि देखाउनु
यतिखेर उनी नेपाललगायत उनको अडान र मान्यतालाई साथ दिनेहरूलाई अझै पनि प्रस्टीकरण वा कारवाहीको डन्डा बर्साउने चेतावनी दिइरहेछन् । भनिरहेछन् – ‘कसैले महाभुल भयो भनी मनन गरेर आयो भने पार्टीमा स्पेस दिन सकिएला अन्यथा....!’ केही अघि अदालतबाट हस्ताक्षर फिर्ता नगर्ने एमाले नहुने भनेर धमास दिन्थे । हस्ताक्षर फिर्ता भएन । फेरि ‘विपक्षी गठबन्धनलाई सघाउने कसरी एमाले हुन्छ ?’ भन्थे, फेरि तिनैसँग गिडगिडाइरहेछन् , वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकारबनाउन अगुवाइ गर्ने गद्दार हुन् भन्थे , तिनैसँग वार्ताको नाटक गरिरहेछन् । ‘किस्तीमा दिने हो अध्यक्ष पद ? अधिवेशन पर्खनुपर्छ’ भन्थे । अहिले फेरि दोस्रो अध्यक्ष दिँदा पनि आएन भनिरहेछन् । अझ हुँदाहुँदै स्पष्टीकरण लेख्न नभ्याउँदै आममाफीको घोषणा गर्न भ्याएका छन् । एकातिर ज्यूँदै रहेका वरिष्ठ नेताको शवयात्रा गराउन अनुचरलाई उक्साउने, बाँदर जुलुस प्रदर्शन गर्न उत्प्रेरित गरी आफू तिनैको ‘बा’ बन्न उल्किइरहने र अर्कातिर राजा–महाराजाले अपराधीलाई आममाफी दिएझैँ ‘एमनेस्टी ग्रान्टेड !’ कति असङ्गत र हास्यास्पद छन् ओलीका कदमहरू ।
खाए मकै, नखाए भोकै ?
यतिखेरसम्म दुनियाँले छर्लङ्ग बुझेको तथ्य त यो हो कि ओलीले माओवादीसँग एकता भए अगाडिको एमाले नब्यूँताउन हालसम्मका शृङ्खलावद्ध हर्कत गरे । आफूले दुई दुई पटक गला सेरेको प्रतिनिधिसभा पुनर्जीवित भएपछि अपराध कर्मबारे पार्टीभित्र कुनै प्रश्न नउठोस् बरू उनको भष्मासुर कदमलाई पार्टीद्वारा जयजयकार गरियोस् भन्ने लालसा थियो र छ । उनले विधान विपरीत गठन गरी भङ्ग पनि गरिसकेको महाधिवेशन आयोजक समिति, जिल्ला जिल्लामा जथाभावी नियुक्त पार्टी कार्यकर्ता , एकलौटी ल्याइएका र उनको टाङमुनि छिर्न राजी पूर्व माओवादी र मनलागी तिनलाई थमाइएका पदीय पगरी नै वर्तमान समस्याको मूल जड हो भन्ने उनी स्वयंलाई र उनका मतियारहरूलाई राम्रो गरी थाहा छ । छर्लङ्ग छ, वस्तुतः ओली तत्कालीन नेकपाले उनीमाथि गरेको कारबाहीको बदला लिन चाहन्छन् नेपाल–खनाल समूहसँग । त्यही कुत्सित ध्येयद्वारा नै निर्देशित छन् उनी जानीजानी यतिखेर । आफू विधान मिच्दै मिच्दै आजको ठाउँमा आइपुगेका छन् । किन्तु उनका गलत क्रियाकलापको प्रतिक्रियालाई उनी समूल नष्ट गर्न चाहन्छन् । उनले विधान विपरीत कार्य नगरेको भए त्यसका प्रतिक्रियास्वरूप भएका सहउत्पादन आज हुँदैनथे र यो जटिलतामा फस्दैनथ्यो पार्टी भन्ने पनि प्रस्ट थाहा छ उनलाई । उनका अनुचरहरू त उनको सनकको अगाडी मौनव्रत बस्नैपर्छ अन्यथा राजनीतिक जीवन नै समाप्त हुने भय पलपल भइरहन्छ । बाहिर जति फतफताए पनि ओलीका अगाडि श्वास फेर्ने आँट पनि उनीहरूले बटुल्न नसकेको त यत्रतत्र छरपस्टिएकै छ । १८४ जनप्रतिनिधिको समर्थन कसरी ८३ मा खुम्चिन बाध्य छ ? नेकपा फुट्नका निम्ति भावभूमि कसले तयार गर्यो ? एकपटक न्यायपालिकाले झट्का दिइसकेपछि गल्ती स्वीकार गर्नु त कता हो कता फेरि अर्कोपटक गैरकानुनी काम गरेकोमा पछुताउ गर्नुको साटो किन न्यायालय र न्यायमूर्तिमाथि धावा बोलियो ? घर चलाउन नसक्नेले देश चलाउला भनेर कसले विश्वास गर्ला ? सत्तामा किर्ना टाँसिएझैँ टाँसिनका निम्ति सिङ्गो प्रणालीको बलि दिन खोज्ने तरिका के सही थियो त ? के पौष ५ प्रतिगमनको प्रारम्भ थिएन त ? के संसद पुनर्स्थापनाको माग गलत थियो त ? दोस्रो पटक संसद विघटन अघि गरेका उनका तमाम जालझेल सही थिए भन्ने शर्तमा हुन लागेको हो एकता ? साँच्चि ओलीले दिलैदेखि र दिगो एकता चाहेका हुन् भने हरेक एमाले गणद्वारा यी यावत् प्रश्नको सन्तोषजनक जवाफ खोजिनुपर्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij