२०८२ मंसिर १५ गते सोमवार
शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन् ।
हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिए । उनले जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गरे ।
बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो ।
बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ ।
त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ । हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो ।
यता भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेका र पहिरो पन्छाउन अझै तीन/चार घण्टा लाग्ने भएकाले काठमाडौँ जाने यात्रुलाई निकै कष्ट भोग्नुपर्ने बाध्यता भएको जनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij