२०८२ मंसिर १६ गते मंगलवार
आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारी गरेका छन् । जसपाको आन्तरिक कलह र एमालेभित्रको माधवकुमार नेपाल पक्षको अनिणर्यका कारण देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कठिनाई भएको छ ।
देउवाले आफ्ना दुवै सत्तासहयात्रीहरु भेटेर मन्त्रिपरिषद्मा भाग लिने सदस्यहरुको नाम मागिरहेका छन् । प्रधानमन्त्री देउवा र उनका राजनीतिक सहयोगीहरुको टिमले जसपा र एमालेको माधव नेपाल पक्षलाई भेटेर उनीहरुको तर्फबाट मन्त्री हुनेहरुको नामावली चाँडो दिन दवाव दिइरहेका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबारसम्म मन्त्रिपरिषद विस्तारको काम टुंग्याएर अघि बढ्न चाहेको उनको सचिवालय स्रोतले बतायो ।
प्रधानमन्त्री देउवाका ती सचिवालय सदस्यले भने, शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने तयारी छ । त्यसलगत्तै सचिवहरुको कार्यविभाजन हेरफेर हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ति सचिवालय सदस्यले भने, शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि आइतबारसम्म सचिव हेरफेर हुन्छ ।’
यदि एमालेको नेपाल पक्ष र जसपाको कारण मन्त्रिषरिषद विस्तारमा ढिलाई हुने अवस्थामा भने केही मन्त्रालयहरुमा सचिवहरु हेरफेर गरिहाल्ने सरकारको तयारी छ ।
सरकारले गृह र अर्थ मन्त्रालयमा जतिसक्दो चाँडो सचिव परिवर्तन गर्ने तयारी गरेको छ । यि दुवै मन्त्रालयमा मन्त्री नियुक्त भइसकेको र महत्वपूर्ण मन्त्रालय भएकाले आफ्नै सचिव नियुक्त गर्न लागेको हो ।
नयाँ सरकार गठनसँगै महत्वपूर्ण मन्त्रालयमा सचिव दावी गर्दै दौडधुप गर्ने सचिवहरुको संख्या ह्वात्तै बढेको थियो । यतिखेर भने सिमित सचिवहरुवीच महत्वपूर्ण मन्त्रालयको सचिव बन्ने प्रतिस्पर्धा छ ।
सबैभन्दा महत्वपूर्ण मानिने गृह मन्त्रालयमा शुरुमा ७ जनाभन्दा बढीले दावी प्रस्तुत गरेका थिए । तर अहिले भने गृह सचिवका लागि तीन जनाबीच मात्र प्रतिस्पर्धा छ । उनीहरुमा गोकर्णमणि दुवाडी, टेकनारायण पाण्डे र कृष्णहरी पुस्कर छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार यसमध्ये गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने तयारी छ । गृहका लागि प्रतिस्पर्धी अर्का दुईमध्ये कृष्णहरी पुस्करलाई रक्षा र टेकनारायण पाण्डेलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने गरी तयारी भएको प्रधानमन्त्रीको सचिवालयको दावी छ ।
सचिव कृष्णहरी पुस्कार भर्खरै सचिवमा बढुवा भएका हुन् । कनिष्ठ सचिवलाई गृह मन्त्रालयको जिम्मेवारी दिदा बरिष्ठ सचिवहरुसँग समन्वय गरेर काम गर्न कठिनाई हुने र अन्य सचिवहरुले असन्तुष्टि जनाउने भन्दै पुस्करलाई गृह सचिव बनाउनबाट पछि हटाइएको हो ।
सचिव पुस्करको गृहपछिको रोजाई रक्षा मन्त्रालय भएकाले उनलाई रक्षा मन्त्रालय लैजान लागिएको हो । यस्तै अहिले भूमीसुधार मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे पनि गृहका दरिला दावेदार थिए । तर उनमा गृह प्रशासनको अनुभव नभएकै कारण मात्र उनलाई गृह सचिव बन्नबाट रोकिन लागेको छ ।
‘गृह सचिवका लागि उहाँमा अरु कुनै पनि कमजोरी छैन, ती सचिवालय सदस्यले भने, यसवीचमा आन्दोलनका घटना बढ्न सक्ने, निर्वाचन गराउनु पर्ने भएकाले गृह प्रशासनको अनुभव भएकै सचिव लैजानु पर्छ भन्ने निष्कर्षमा उहाँलाई गृह मन्त्रालय नलैजाने मनस्थिती बनेको छ ।’
प्रधानमन्त्रीको मिडिया हेरिरहेका पत्रकार गोविन्द परियारले पनि गृह सचिवका लागि गृह मन्त्रालयको अनुभव भएको सचिवको खोजी भएको बताए । तर सरकारले निर्णय गर्नुअघि नै को जाँदैछ भन्न नसक्ने उनले बताए ।
गृह मन्त्रालयमा जस्तै अर्थ मन्त्रालयको सचिवका लागि पनि आधा दर्जन सचिवहरुको दौडधुप चलेको थियो । अर्थ सचिवका लागि प्रतिस्पर्धीहरुको संख्या सिमित बन्दै गएको छ । अर्थ सचिवका लागि उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदी र योजना आयोगका सचिव केवल भण्डारी प्रतिस्पर्धामा छन् ।
अर्थ मन्त्री जनादर्शन शर्माको पहिलो रोजाईमा सचिव रामकृष्ण सुवेदी छन् । तर अर्थ मन्त्रालयमा लामो समय बसेको अनुभवका कारण अर्थ मन्त्री शर्माले केवल भण्डारीलाई राजस्व सचिव बनाउन चाहेका छन् ।
तर रामकृष्ण सुवेदी, भण्डारी भन्दा कनिष्ठ सचिव हुन् । अर्थ मन्त्री शर्माले सुवेदी र भण्डारीमध्ये एक जनालाई अर्थ सचिव बनाउन चाहेको स्रोतको दावी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij