२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । विदेशमा हालसम्म करिब ५० हजार नेपालीहरू कोरोना संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल संक्रमितको ९३% रहेको हो ।
विश्वका विभिन्न २० मुलुकमा मात्र कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ। सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै संघले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करिब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने जनाएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्युन आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । यद्यपि यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
हाल विश्वभर ५८ वटा खोप कोरोनाविरुद्धका खोपको क्लिनिकल ट्रायल भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ । अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् । खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ । नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन् यद्यपि सो विषयमा औपचारिक निर्णय भएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij