२०८२ भाद्र २ गते सोमवार
राजनीतिक दबाब र प्रभावमा ठेक्का हत्याएर अलपत्र पार्दै तर मार्न पल्किएका ठेकेदार शारदा प्रसाद अधिकारीका केही कम्पनी कालोसूचीमा परेका छन्। अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी समेत हुन्।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले अधिकारीको सहित १५ वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । अनुगमनको कार्यालयले पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखेको हो । शैलुंग अधिकारीको स्वामित्वको कम्पनी हो भने मुक्तिनाथमा समेत उनको केही प्रतिशत हिस्सा छ।
मल खरिदमा शर्तअनुसार काम नगरेपछि कृषि सामाग्री केन्द्रको सिफारिसमा उनको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई कालोसूचीमा राखिएको हो ।
सो कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यो अवधिमा सो कम्पनीले कुनै पनि प्रकारको सार्वजनिक खरिदसम्बन्धी काममा सहभागिता जनाउन पाउने छैन ।
शैलुङकै कारण बजारमा मलको हाहाकार भएको थियो । अधिकारीको अर्को कम्पनी शैलुङ कन्ट्रक्सन पनि ठेक्का पारेर काम अलपत्र पार्ने काम गर्दै आएको छ। नुवाकोटमा जन्मिएका अधिकारीले नुवाकोट आसपासका सडक निर्माणको ठेक्का पाएका छन् र काम नसकी अलपत्र पार्दै आएका छन्। नगरकोट जाने बाटोको ठेक्का समेत अधिकारीकै कब्जामा छ। काम नगरे पछि उनको तस्बिर सहित सार्वजनिक गाडीमा कामचोर ठेकेदार लेखेर केही समय अघि चर्को बिरोध भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij