२०८२ भाद्र २ गते सोमवार
एमाले मिलाउन प्रयासरत दोस्रो तहका नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुई नेता मिल्नुको विकल्प नभएकाले समझदारी कायम गर्न आग्रह गरेका छन् ।
आइतबार बिहान कोटेश्वरस्थित नेपालकै निवासमा पुगेर अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले दुई नेता मिल्नुको विकल्प नभएको भन्दै समझदारीको वातावरण बनाउन आग्रह गरेका हुन् ।
खनाल-नेपाल समूहका नेता घनश्याम भुसाललाई लिएर ओली पक्षका नेताहरू कोटेश्वर पुगेका थिए । नेता सुवास नेम्वाङले विपक्षी गठबन्धनको साथ छाडेर एमालेमा फर्किन आग्रह गरिएको बताए । नेपाल एमालेमा फर्किए उनकै सुझाव अनुसार पार्टी चलाउने र त्यसका लागि आफूहरूले वातावरण मिलाउने कुरा राखेको प्रस्ताव नेपालसमक्ष ओली पक्षका नेताहरूले राखेका छन् ।
छलफलबारे जानकारी दिँदै स्थायी कमिटी सदस्य नेम्वाङले भने, 'उहाँलाई विपक्षी गठबन्धनबाट एमालेमा फर्किएर पार्टीलाई मजबुद बनाउँदै सञ्चालन गर्न हामीले आग्रह गर्यौं । एकताका लागि दुई नेताहरू मिल्नुबाहेकको विकल्प नभएको हामीले धारणा राख्यौँ । उहाँले यस प्रस्तावमा कुनै प्रतिक्रिया जनाउनुभएको छैन ।'
नेता नेपालले अन्य साथीहरूसँगको परामर्शपछि आफ्नो धारणा बताउने ओली पक्षका नेताहरूलाई बताएका छन् । खनाल-नेपाल समूहलाई प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष ओलीले सोमबारसम्मको समय दिएका छन् । हस्ताक्षर फिर्ता नगर्नेहरू एमाले नरहने उनको चेतावनी छ ।
यता नेता नेपालले आफ्ना निवर्तमान सांसदहरूसँग छलफल गर्दै बरू नयाँ पार्टी खोलेर केही समयमा बलियो बनाउन सकिने तर यथास्थितिमा ओलीसँग मिल्न नसकिने बताएका थिए । हस्ताक्षर फिर्ता गरेर एमालेमा फर्किनु मृत्युपत्रमा हस्ताक्षर गरेबराबर हुने नेता नेपालको भनाइ थियो ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल आ-आफ्नै अडानमा अडिक रहेपछि एमालेको एकता संकटमा छ । नेता नेपाल अध्यक्ष ओलीसँग नझुक्ने पक्षमा छन् भने अध्यक्ष ओली नेपाललाई नपर्खिने पक्षमा छन् । शनिबारको केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका छन्, 'यात्रा अघि बढाउँदै गए नयाँ साथीहरू पनि भेटिन्छन् । उहाँहरूलाई नै पर्खिनुपर्ने कुनै बाध्यता छैन ।'
एमाले मिलाउन दोस्रो तहका नेताहरूले प्रयत्न जारी राखेपनि उनीहरूको प्रयासमा नेताहरूको अडान चुनौती बनेको छ । सोमबार अपराह्न पाँच बजेसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा अध्यक्ष ओलीले गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij