२०८२ भाद्र ७ गते शनिवार
प्रहरी प्रधान कार्यालयले डीआईजी नहुँदा ‘चेन अफ कमान्ड’ र कार्यसम्पादनमा असर परेको गुनासो गरेपछि चारजना डीआईजी थप्ने तयारी गरिएको छ । दरबन्दी थप्ने तयारी गरिएको भएपनि सरकारले यसका लागि आवश्यक कानुनी गृहकार्य भने थालेकै छैन।
अघिल्लो बर्ष सरकारले २६ डीआईजीको दरबन्दी कटौती गरेर १४ मा झारेको थियो । पछि फेरी थपेर १९ पुर्याईएको थियो।
अहिले सातवटा प्रदेशको नेतृत्व डीआईजीले गर्दै आएका छन् । यसबाहेक उपत्यका प्रहरी कार्यालय, महानिरीक्षकको सचिवालय, साईबर ब्युरो, विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रहरी एकेडेमी, अन्वेषण योजना निर्देशनालय, प्रबन्ध निर्देशनालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा डीआईजी कार्यरत छन् ।
यसअघि, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, जुनियर प्रहरी शिक्षालय भरतपुरमा डीआईजीकै दरबन्दी थियो । सरकारले डीआईजीको संख्या बढाएपछि ती स्थानमा डीआईजीको कमान्ड तोक्ने तयारी छ । यसका लागि प्रधानमन्त्री समेत सकारात्मक भएको बताइएको छ ।
सरकारले चार डीआईजीको दरबन्दी स्वीकृत गरे नेपाल प्रहरीमा २३ जना डीआईजी हुनेछन् । प्राविधिकतर्फको दरबन्दी भने छुट्टै छ । चारजना थप भए नेपाल प्रहरीमा एआजाईजी बढुवा सिफारिस भएका थापाको स्थानमा एकजना थपिएर पाँचजनाले डीआईजी बन्ने अवसर प्राप्त गर्नेछन् ।
थपिने डीआईजीमा सिनियर र जुनियर ब्याचका २० जना बढी दाबेदार छन् । जसमा सिनियर ब्याचबाट शौरभ राणा, सुशीलकुमार यादव, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइरालालगायत छन् ।
यसबाहेक जुनयर ब्याचका एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, भीमप्रसाद ढकाल, किरण बज्राचार्य, टेकबहादुर तामाङ, रामदत्त जोशी, मीरा चौधरी, पोषराज पोखरेललगायत डीआईजीको प्रतिस्पर्धामा हुनेछन् ।
स्रोतका अनुसार दुईजना सिनियर र दुईजना जुनयर ब्याचका एसएसपी डीआईजी बन्ने सम्भावना बढी छ । एकै ब्याचबाट एकजना मात्रै गर्दा आईजीपीमा प्रतिस्पर्धा नहुने भएकाले कम्तीमा दुईजना एक ब्याचबाट अगाडि बढाउनुपर्ने तर्क प्रहरीमा उठ्दै आएको छ । तर, अन्तिममा भने प्रधानमन्त्री र गृहमन्त्रीकै रोजाइका व्यक्तिले डीआईजी बन्ने अवसर प्राप्त गर्ने प्रहरी इतिहास छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij