२०८२ माघ ८ गते बिहिवार
कोरोना संक्रमणको सुरुवातसँगै रोकिएको रोजगारी नियमित गर्न दक्षिण कोरियाले नेपालसामु सर्त राखेको छ।
नेपाली श्रमिक लैजान दक्षिण कोरियाले तीन वटा सर्त राखेको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए।
नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नु पर्ने र त्यहाँ श्रमिकले आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने सर्त दक्षिण कोरियाले राखेको हो। यी सर्त पुरा गर्ने भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने कोरियाले बताएको महानिर्देशक दवाडीले बताए।
यस विषयमा निर्णय गर्न विभागले केही दिनपहिले नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फाइल पठाइसकेको छ।
‘हामीले गर्नुपर्ने जति सबै गरेर फाइल मन्त्रालयमा बुझाइसकेका छौँ, अब मन्त्रालयको निर्देशन आएपछि प्रक्रिया अगाडि बढ्छ,’ दवाडीले भने।
मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले कोरियाको सर्त अनुसारका धेरै काम भइसकेको र कतिपय श्रम सम्झौता हुँदाकै विषयमा पनि प्रगति भइरहेकाले छिट्टै कोरियाको रोजगारी खुल्ने विश्वास व्यक्त गरे। सरकारले गत साता दक्षिण कोरियामा पनि नियमित उडान सुरु गर्ने निर्णय गरिसकेको छ।
‘अन्य केही व्यवस्थापकीय कामहरु छन्, ती विषयमा पनि मन्त्रालयले काम गरिरहेको छ,’ काफ्लेले भने, ‘पछिल्ला सर्तबारे पनि काम भइरहेको छ।’
कोरोना माहामारीका कारण गत वर्ष सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै दक्षिण श्रमिक कोरिया जान पाएका छैनन्। करिब ७ हजार नियमित र पुनः जान लागेका ३ हजार श्रमिक जान नपाएको मन्त्रालयले जनाएको छ।
भाषा पास गरेर सबै प्रक्रिया पुरा गरेपनि कोरिया जान नपाउँदा उनीहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। अहिले सरकारले छिट्टै खुल्ला हुने आश्वासन दिएको भाषा पास गरेका श्रमिकहरुको संघर्ष समितिका संयोजक अजय सोडारीले बताए।
कोरोना महामारीकै बीचमा पनि कम्बोडिया, भियतनाम, थाइल्यान्ड, पूर्वी टिमोरलगायत देशबाट भने कोरियाले श्रमिक लगिरहेको छ।
कोरियाबाट कन्फर्मेसन लेटर आएको ६ महिनाभित्रमा कोरिया पुगिसक्नु पर्ने प्रावधान छ। यो अवधिमा नपुगे रोजगारी गुम्छ।
तर विभागका महानिर्देशक दबाडीले भने बीचमा म्याद सकिएकाहरुको एक वर्ष म्याद थप भएको बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij