Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

मिडियामा प्रहरी हस्तक्षेपबारे गगन थापाको आपत्ति

मिडियामा प्रहरी हस्तक्षेपबारे गगन थापाको आपत्ति


  • 330
    Shares

    मिडियामा प्रहरी हस्तक्षेपबारे गगन थापाको आपत्ति
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी आलोचनापछि रिहा गर्ने सरकारी शैलीले विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

    आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सरकारले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताप्रति देखाएको पछिल्लो व्यवहार चिन्ताजनक रहेको टिप्पणी गरे।

    उनले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु सामान्य घटना नभएको उल्लेख गर्दै यसले सरकारको प्रेसप्रतिको दृष्टिकोण र अभिव्यक्ति स्वतन्त्रताबारेको बुझाइ उजागर गरेको बताए।

    ‘मिडियाका गेटमा गाडी तेर्स्याएर पक्राउ गरियो। त्यसपछि प्रधानमन्त्रीको सचिवालयले हामीलाई थाहा छैन भन्यो,’ थापाले भने, ‘तर प्रहरी प्रधान कार्यालयले भने प्रधानमन्त्री कार्यालयको चासोका कारण नियन्त्रणमा लिइएको बताएको छ।’

    पत्रकारलाई पक्राउ गरेर पछि रिहा गर्नु मात्रै मुख्य विषय नभएको उनको भनाइ थियो। सरकारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र संविधानलाई कसरी हेर्छ भन्ने विषय महत्त्वपूर्ण रहेको उनले बताए।

    थापाले प्रहरी आफैँले स्वेच्छाले सञ्चारगृहको न्यूजरुममा प्रवेश गरेर पत्रकार पक्राउ गर्न नसक्ने जिकिर गर्दै यसमा उच्च तहको राजनीतिक निर्देशन रहेको हुन सक्ने बताए।

    ‘प्रहरी आफैँ मिडियाको न्यूजरुममा पुग्दैन, त्यो माथिको आदेशमार्फत नै पुगेको हो,’ उनले भने, ‘केही साथीहरू एक ठाउँमा बसेर उठाऊ भनेर निर्देशन दिएपछि पक्राउ गरियो, फेरि सर्वत्र चर्को आलोचना भएपछि छोड भनेर निर्देशन दिइयो। यो तरिका लोकतान्त्रिक हुनै सक्दैन।’

    सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अघि बढ्न खोजेको भन्दै थापाले यस्तो प्रवृत्तिले लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउने चेतावनी दिए।

    ‘हामीले जे बोल्यौँ, त्यही नै हुकुम हो र सरकारको इच्छा नै कानुन हो भन्ने सोच शासकमा आउँछ भने त्यहीँबाट देशमा समस्या सुरु हुन्छ,’ उनले भने।

    सभापति थापाले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने स्पष्ट पारे। उनले सरकारलाई आफ्ना कमजोरी सच्याउन, लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न र विधिको शासनअनुसार अघि बढ्न आग्रह गरे।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १४:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij