२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र व्यवस्थापनका विषयमा राजनीतिक दलहरूबीच छलफल हुँदै आएको छ।
यसअघि भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन १० बुँदे सङ्कल्प गरेको थियो।
त्यस्तै, भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले यसअघि गरिएको १० बुँदे सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
बुधबारको बैठकले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन राजनीतिक संयन्त्र गठन तथा त्यसको कार्यक्षेत्रबारे आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij