Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

आज दिनभर: सबै खबर एकै ठाउँमा

आज दिनभर: सबै खबर एकै ठाउँमा


  • 862
    Shares

    आज दिनभर:  सबै खबर एकै ठाउँमा
    images

    १. सर्वोच्चले काँग्रेसको पुनरावेदनको मुद्दा प्राथमिकतामा राखोस्ः निधी

    नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादप्रति प्रश्न उठाउँदै १५ औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताउनुभएको छ । बताउनुभएको हो । भक्तपुरमा बुधवार आयोजित एक कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले १३ औँ महाधिवेशन पूर्ण महाधिवेशन भएको उल्लेख गर्दै विशेष महाधिवेशनलाई पूर्ण महाधिवेशनकै रूपमा गणना गर्ने हो भने त्यसपछि १६ औँ महाधिवेशन गर्नुपर्ने अवस्था आउने तर काँग्रेसले १५ औँ महाधिवेशन नै मान्दै आएको भन्दै उहाँले विशेष महाधिवेशनका नाममा १५ औँ महाधिवेशन गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो । 

    २. सरकारमाथि महेश बस्नेतको आरोप–‘राज्यको सामथ्र्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल भयो’

    नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेन–जी आन्दोलनका निश्चित मानिसहरुलाई बताउने खेल भएको दाबी गर्नुभएको छ । बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनुभएको हो । आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाउनु भयो । 

    ३. राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेश

    राष्ट्रिय सभाको बुधवारको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पेश गर्नुभएको प्रतिवेदनअनुसार समितिले विधेयकमाथि विज्ञ, पूर्वसचिव तथा सुरक्षा निकायका पूर्वप्रमुखहरूसँग छलफल गरेको थियो । छलफलपछि समितिले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

    ४. राधिकाले भनिन्– ‘खरानी ग्याङ’ ले सम्मानको अर्थ नबुझ्नु स्वभाविकै हो

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाउनुभएको छ । बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर ः सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको दाबी गर्नुभएको हो । 

    ५. रसुवा बाढीमा मानवीय क्षति १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

    रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्राधिकरणकाअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् ।

    ६. मिराज ढुंगानाले भने–‘म जनजीविकामा सुधार देख्दिनँ, मलाई सत्ताको लोभ छैन’

    जेन–जी अभियन्ता मिराज ढुंगानाले नयाँ सरकार गठन भएपछि जनजीविकामा अपेक्षित सुधार आउन नसकेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महँगी बढेको र सरकारले सुशासन तथा सामाजिक न्यायको क्षेत्रमा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको हो । ढुंगानाले विशेषगरी गृहिणीहरू महँगीको मारमा परेको बताउनु भयो । उहाँकाअनुसार एक साताका लागि आवश्यक तरकारी किन्नसमेत दुई–तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ । 

    ७. भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षमः नेता दंगाल

    राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सरकार असक्षम भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सुरुङमा फसेका नागरिकको समयमै उद्धार गर्न नसक्नु सरकारको गलत निर्णय र नीतिको परिणाम भएको दाबी गर्नुभयो । दंगालले अन्तर्राष्ट्रिय उद्धार टोली र प्रविधि समयमै प्रयोग गर्न नसक्दा सुरुङमा फसेका धेरै मजदुरको ज्यान गएको आरोप लगाउनु भयो । 

    ८. भोटेकोशी बाढी उद्धारमा ढिलाइदेखि ग्यास अभावसम्म, राष्ट्रिय सभामा सरकारको आलोचना

    भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा ढिलाइ भएकोदेखि बजारमा देखिएको ग्यास अभावसम्मका विषयमा राष्ट्रिय सभाका सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरूले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, सुरुङमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजी, प्रभावित क्षेत्रमा राहत वितरण, सडक अवरोध, हवाई भाडा वृद्धि, ग्यास अभावलगायतका विषय उठाएका हुन् । 

    ९.भदौ २४ लाई सम्झँदै दाहालले भने– एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गर्नुभएको छ । भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताउनु भयो ।

    १०. भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न गगन थापाको माग

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले गत वर्षको भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक सम्पतीको विनाशसम्मका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभएको हो । वीपी कोईरालाको जन्मजयन्तीका अवसरमा बोल्दै थापाले भदौ २४ गते आफ्नै घर जलेको र आफ्नो परिवारसमेत आगलागीको जोखिममा परेको स्मरण गर्नुभयो ।

    ११. ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग

    भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पु¥याएको छ । बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजर आठ सय भन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रुपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरुले तत्काल राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग समेत गर्नुभएको छ । 

    १२. बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर

    अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) का लगातार तेस्रो जित निकाल्दै सीधै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।
    केडिया ग्रुपको आयोजनामा भइरहेको एनभिएलको लिगचरणमा शिर्ष टोली सीधै फाइनलमा पुग्नेछ । चार खेलबाट लगातार तीन जित निकाल्दै अन्नपूर्ण स्पाइकरले सीधै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार भएको खेलमा अन्नपूर्ण स्पाइकले खप्तड फाल्कोन्सलाई ३–० को सोझो सेटमा हरायो । 

    १३. नेपालमा विद्युतीय यातायातको विस्तार जरुरी भइसक्योः सचिव सिग्देल

    पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालमा विद्युतीय यातायातको विस्तारलाई आर्थिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण अवसरका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित यातायात तथा पूर्वाधारसम्बन्धी अन्तर्राष्ट्रिय सिम्पोजियममा बोल्दै सचिव सिग्देलले नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई यातायात क्षेत्रमा उपयोग गर्नसके जीवाश्म इन्धनको आयात निर्भरता घटाउनुका साथै मुलुकको ‘नेट जिरो’ प्रतिवद्धता पूरा गर्न सहयोग पुग्ने बताउनु भयो । 

    १४. नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यकः प्रमुख आचार्य

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।  ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता अरहेको बताउनुभएको हो । सडक निर्माण गर्दा तत्कालको दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र नभई दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावलाई समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभयो ।

    १५. जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’

    सातदोबाटोमा निर्माण गरिएको जेन–जी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् । शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ त्यत्तिकै फर्किनुभएको हो । शहीदका आफन्तले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र सालिकसमेत चित्तबुझ्दो नबनाइएको आरोप लगाए । 

    १६.  कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल

    भोटेकोशी रसुवा बाढी पछि अहिले सर्वत्र नेपालले जलवायु न्याय पाउनुपर्ने आवाज टड्कारो उठिरहेको छ । त्यसो त यो विषय नेपालले वर्षौंदेखि उठाउँदै आईरहेको छ । जलवायु न्याय अथवा ‘क्लाइमेट जस्टिस’ आफैँमा एउटा ‘भेग’ शब्द हो । यसको एउटै वा एकै प्रकारको परिभाषा हुँदैन । अन्तर्राष्ट्रिय कुटनीतिमा जलवायु न्याय केही हदसम्म कार्यान्वयन भएको देखिन्छ । 

    १७. ओलीले भने–‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताउनुभएको छ । गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित आफ्नो निवासको बुधवार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू न पहिला भागेको, न अहिले भाग्ने र न भविष्यमा नै भाग्ने बताउनुभएको हो । उहाँले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरूले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको बताउनु भयो । 

    १८. आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा

    नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गर्नुभएको हो । पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उहाँको भनाइ छ । 

    १९. असोज १६ गते एसियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल हुने

    एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिप आगामी असोज तेस्रो साता हुने भएको छ । सात प्रदेशले प्रतिष्पर्धा गर्ने च्याम्पियनसिप आगामी असोज १६ गते काठमाडौंमा आयोजना गर्ने भएको हो । उक्त राष्ट्रिय फुटबल प्रतियोगिता २०२६ को प्रदेशस्तरीय छनोट खेल आगामी भदौ २५ गतेदेखि देशभर एकसाथ शुरु हुँदैछ । बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो ।

    २०. ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’ः प्रकाशमान सिंह

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनजीविकाका समस्या समाधान गर्न नसकेको आरोप लगाउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले ठूलाठूला विकास र सुशासनको दाबी गरे पनि व्यवहारमा नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताउनु भयो । विशेषगरी खाना पकाउने ग्यासको अभाव र बजारमा बढिरहेको मूल्यवृद्धिले आम नागरिकलाई समस्या परेको उहाँको भनाइ छ । 

    २१. ‘भोटेकोशी बाढीको क्षति राष्ट्रिय एकताबाट मात्रै सम्बोधन सम्भव छ’ः सांसद अधिकारी

    नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षति उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय एकता र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा ठूलो क्षति भएको उल्लेख गर्नुभयो । उहाँले बाढीबाट १ हजार ३६६ जनाको मृत्यु भएको र ५ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको बताउनु भयो ।

    २२. ‘पूर्वाधारमा लगानी बढाएर उत्पादन प्रणालीसँग जोड्नुपर्छ’ः आशिष गजुरेल

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नेपालले अब पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बुधवार आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियम ‘सस्टेनेबल ट्रान्सपोर्टेसन एण्ड मोबिलिटी’मा बोल्दै गजुरेलले सीमित स्रोतसाधनबाट धेरै पूर्वाधार निर्माण गर्नेभन्दा गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको हो ।

    २३. ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला

    नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै काँग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताउनुभएको हो । कोईरालाले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको उल्लेख गर्नुभयो । 

    २४. ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’ः मुख्यमन्त्री यादव

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने बताउनुभएको छ । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मंगलवार बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित मुलुकका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको मार खेप्नुपरेको बताउनुभएको हो ।

    २५. ‘नयाँ अनुहार आउँदैमा नयाँ राजनीति हुँदैन, परिणामबाट सरकारको मूल्यांकन हुन्छ’ः पदमबहादुर परियार

    राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले नयाँ अनुहार सरकारमा आउँदैमा मात्रै नयाँ राजनीति स्थापित नहुने बताउनुभएको छ । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै परियारले यस्तो बताउनुभएको हो । उहाँले सरकार परिवर्तनभन्दा शासनको चरित्र परिवर्तन महत्वपूर्ण रहेको बताउनु भयो । गत वर्षको भदौ २३ गते भएको जेन–जी आन्दोलनलाई वर्षौंदेखि नेपाली समाजमा थुप्रिएको असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गर्नुभयो । 

    २६. ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’ः देउवा

    नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । भोटेकोशी  बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै देउवाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । 

    २७. अल अलामेन अन्तर्राष्ट्रिय एयर शो शुरु

    इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले मंगलवार इजिप्टको भूमध्यसागरीय तटमा अवस्थित अल अलामेन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अल अलामेन अन्तर्राष्ट्रिय एयर शो’ को दोस्रो संस्करणको औपचारिक उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहका अवसरमा राष्ट्रपति सिसी र साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडुलिडिसले विभिन्न प्रदर्शनी मण्डप (प्याभिलियन) तथा खुला प्रदर्शनी क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

    २८. अस्ट्रेलियामा घरजग्गाको कुल मूल्य सन् २०२२ यताकै पहिलोपटक घट्यो

    अस्ट्रेलियामा आवासीय घरजग्गाको कुल मूल्य सन् २०२२ यता पहिलोपटक त्रैमासिक रूपमा घटेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ को जुनमा समाप्त त्रैमासिकमा देशभरका आवासीय घरजग्गाको कुल मूल्य ०.३ प्रतिशतले घटेर १२.७ ट्रिलियन अस्ट्रेलियाली डलरमा झरेको छ । यो करिव ९.१ ट्रिलियन अमेरिकी डलर बराबर हो । तथ्याङ्कअनुसार घरजग्गाको कुल मूल्य ३४.१ अर्ब अस्ट्रेलियाली डलरले घटेको हो । यसअघि सन् २०२२ को सेप्टेम्बर त्रैमासिकमा घरजग्गाको मूल्य घटेको थियो । 

    २९. इजरायलद्वारा मृत सागरमा भूकम्प अध्ययनका लागि ५५ किलोमिटर लामो फाइबर–अप्टिक केबल जडान

    इजरायलले मृत सागरको पिँधमा पूर्ण रूपमा भूकम्प विज्ञान (सिस्मोलजी) अध्ययनका लागि समर्पित ५५ किलोमिटर लामो अत्याधुनिक फाइबर–अप्टिक केबल बिछ्याएको छ । इजरायलको राष्ट्रिय अनुसन्धान संस्था ‘जियोलोजिकल सर्भे अफ इजरायल’ ले मंगलवार एक औपचारिक वक्तव्य जारी गर्दै यस नौलो वैज्ञानिक उपलब्धिका बारेमा जानकारी दिएको हो ।

    ३०. एर्दोगानद्वारा शाङ्घाई सहयोग संगठनसँग सम्बन्ध विस्तार गर्ने प्रतिवद्धता

    टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले टर्कीले शाङ्घाई सहयोग संगठनसँगको सम्बन्धलाई निरन्तर रूपमा विस्तार गर्दै लैजाने बताउनुभएको छ । एर्दोगानले टर्की शाङ्घाई सहयोग संगठनको संवाद साझेदार रहेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा संगठनसँग टर्कीको सम्बन्ध थप घनिष्ठ बन्दै गएको बताउनु भयो । एर्दोगानले शाङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरूले विश्वको जनसंख्या तथा आर्थिक उत्पादनको ठूलो हिस्सा ओगटेको उल्लेख गर्दै संगठनमा उल्लेखनीय सम्भावना रहेको बताउनु भयो । 

    ३१. कुवेतमा शहरी विकास प्रवद्र्धन गर्न आवास तथा शहरी विकास मञ्च

    कुवेतको राजधानी कुवेत सिटीमा आवास तथा सहरी विकास मञ्च २०२६ मंगलवारदेखि शुरु भएको छ । मञ्चसँगै बैती भवन प्रदर्शनीको छैटौँ संस्करण पनि आयोजना गरिएको छ ।  कार्यक्रममा कुवेतका सरकारी अधिकारी, लगानीकर्ता, घरजग्गा विकासकर्ता तथा आवास, घरजग्गा र निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीका प्रतिनिधिहरू सहभागी भएका छन् ।  

    ३२. घानाले मे महिनादेखि हालसम्म करिव २ हजार नागरिक स्वदेश फर्कायो

    घानाले दक्षिण अफ्रिकामा बढेको विदेशीविरोधी हिंसात्मक अशान्तिका बीच गत मे महिनादेखि हालसम्म कम्तीमा १ हजार ९६४ जना आफ्ना नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।  घानाका विदेशमन्त्री स्यामुएल ओकुर्जेटो अब्लाक्वाहले सरकारले आफ्ना नागरिकको जीवन र सुरक्षालाई प्राथमिकतामा राख्दै तत्काल उद्धार तथा स्वदेश फिर्ताको अभियान सञ्चालन गरेको बताउनु भयो । 

    ३३. बोस्निया र हर्जेगोभिनामा प्रमुख राजमार्गअन्तर्गत क्वान्ज सुरुङ छिचोलियो

    बोस्निया र हर्जेगोभिनामा निर्माण भइरहेको क्वान्ज–बुना राजमार्ग खण्डअन्तर्गतको क्वान्ज सुरुङ छिचोलिएको छ ।  क्वान्ज–बुना खण्ड पान–युरोपेली करिडोर पाँचको महत्वपूर्ण हिस्सा हो । यो मार्गले मध्य तथा दक्षिणपूर्वी युरोपलाई भूमध्यसागरीय क्षेत्रसँग जोड्ने प्रमुख यातायात मार्गका रूपमा काम गर्छ । क्वान्ज–बुना खण्डको निर्माण चाइना रोड एन्ड ब्रिज कर्पोरेसनको नेतृत्वमा अजरबैजानको अजभिर्त र बोस्निया तथा हर्जेगोभिनाको हेरिङ कम्पनी सम्मिलित निर्माण समूहले गरिरहेको छ । 

    ३४. हुथी विद्रोहीद्वारा दक्षिणपूर्वी यमनमा सैन्य सामग्री बोकेका ट्रकमाथि क्षेप्यास्त्र प्रहारको दाबी

    यमनको हुथी विद्रोही समूहले दक्षिणपूर्वी यमनमा सैन्य सामग्री बोकेका ट्रकमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । हुथी समूहकाअनुसार साउदी अरबबाट यमनको सरकारको नियन्त्रणमा रहेको दक्षिणपूर्वी हदरामौत प्रान्तस्थित अल–वादिया सैन्य शिविरतर्फ सैन्य सामग्री लैजाँदै गरेका ट्रकलाई लक्षित गरी आक्रमण गरिएको हो । समूहले आक्रमणमा स्थानीय रूपमा निर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको जनाएको छ । 

    ३५. अन्तरदेशीय पूर्वसूचना प्रणाली सम्बन्धी रोडम्याप तयार पारेका छौँ, छिट्टै कार्यान्वयनमा ल्याउछौँः कार्यकारी प्रमुख डा. उप्रेती

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले अन्तरदेशीय पूर्वसूचना प्रणालीलाई बलियो बनाउने रोडम्याप तयार पारेको बताउनुभएको छ । बुधवार अर्थसमितको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले प्राधिकरणले अन्तरदेशीय पूर्वसूचनाको लागी ‘सबैका लागि पूर्वसूचना’ सम्बन्धी रोडम्याप तयार भइसकेको जानकारी दिनुभएको हो । 

    ३६. अर्थ समितिमा सांसदहरुले भने, ‘रसुवा बाढीपछिको उद्धार र राहतमा सरकार असफल देखियो’

    रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा सांसदहरुले असन्तुष्टी जनाएका छन् । 
    बुधवार अर्थ समितिमा सांसदहरूले बाढीपछिको उद्धार तथा राहत वितरणमा सरकार असफल भएको बताएका हुन् । उनीहरुले सरकारको बाढीपीडितहरुलाई तत्काल राहत दिन, बेपत्ताको खोजी गर्न, अस्थायी बसोवास र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानकर्षण गराएका छन् । बैठकमा नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको बताउनु भयो ।

    ३७. उद्धारमा समन्वय नहुँदा धेरैको ज्यान जोगाउन सकिएनः सांसद लिमा अधिकारी

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले रसुवा बाढीपछिको उद्धारमा सरकारको कमजोरी देखिएको बताउनुभएको छ । रसुवामा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण तथा पुनःस्थापनाबारे अर्थसमितिमा भएको छलफलमा सांसद अधिकारीले सरकारको कमजोरीका कारण धेरैको ज्यान गएको आरोप लगाउनु भयो । उहाँले उद्धारका क्रममा सरकारी संयन्त्र र जलविद्युत आयोजना सञ्चालकबीच प्रभावकारी समन्वय हुन नसकेको बताउनु भयो । 

    ३८. उद्योगमन्त्रीको आरोप, ‘उद्योगीको प्रभावमा कर्मचारीतन्त्र चलेका छन्, मलाई काम गर्न अफ्ठ्यारोमा पारे’

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले कर्मचारीहरुले आफूलाई काम गर्न नदिएको आरोप लगाउनुभएको छ । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले मन्त्रालयका कर्मचारीहरुले उद्योगी व्यवसायीको मिलोमत्तोमा काम गर्ने गरेको आरोप लगाउनुभएको हो । उहाँले आफूले राम्रो गर्न खोज्दा सबैको आखाँको तगरो बन्न पुगेको बताउनु भयो । मन्त्रालयले बनाउने विधेयक तथा कानूनहरु पनि कर्मचारीहरुले उद्योगी व्यवसायीसंगको मिलेमत्तोमा बनाउने गरेको उहाँको आरोप छ ।

    ३९. उद्योगमन्त्रीलाई सचिव शर्माको जवाफः ब्युरोक्रेसीले कुनै गलत कार्य गरेको छैन 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको ब्युरोक्रेसी सरकारको म्यान्डेटअनुसार काम गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सचिव दुवाडीले मन्त्रालयका कर्मचारीहरुले कुनै गलत कार्य नगरेको बताउनुभएको हो । समितिमा मन्त्री गौरी कुमारीले कर्मचारीतन्त्र उद्योगीसँग मिलेर काम गर्न नदिएको लगाएको आरोपको खण्डन गर्दै उहाँले वर्तमान सरकारको मार्गदर्शन अनुसार नै कर्मचारीले काम गरिरहेको बताउनु भयो । 

    ४०. चाडवर्पलाई चिनीको आपूर्ति सहज बनाउन ८ हजार ५ सय मेट्रिक टन आयात गर्दैछौँः सचिव दुवाडी

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको आपूर्ति सहज बनाउन करिव ८ हजार ५ सय मेट्रिक टन चिनी तत्काल आयात गर्ने तयारी गरेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आगामी मंसिरसम्म पुग्नेगरी ८ हजार ५ सय मेट्रिक टन चिनी आयात गर्न लागिएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार नेपालमा वार्षिक करिव २ लाख ६० हजार मेट्रिक टन चिनीको माग रहेको छ । स्वदेशी उद्योगबाट करिव १ लाख ९० हजार मेट्रिक टन उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    ४१. रसुवा बाढीपछिको पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकार सक्षम छः अर्थसचिव डा उपाध्याय

    रसुवाबाढी पश्चात भएको क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत परिचालनको तयारी अघि बढाएको छ । बाढीले मानवियसँगै भौतिक तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति गरेपछि सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राखेको अर्थसचिव डा घनश्याम उपाध्यायले बताउनु भयो ।

    ४२. ‘जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ?’

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल प्रतिवन्ध, सुशासन र तत्कालीन सत्ताका बेथितिविरुद्ध जेनजीले गरेको आन्दोलन पवित्र भएको पनि बताउनुभयो ।

    ४३. ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा पेश

    सरकारले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक सभामा प्रश्तुत गर्नुभएको हो । नेपाल कानून आयोगको अध्यक्ष कानूनमन्त्री नै हुने व्यवस्था विधेयकमा प्रश्ताव गरिएको छ । उक्त विधेयक प्रश्न गर्दै मन्त्री गौतमले आयोगको संरचनामा फेरबदल गर्न उक्त विधेयक अघि बढाइएको बताउनु भयो ।

    ४४. काँग्रेस एकजुट भएर १५ औँ महाधिवेशनमा जान्छः सचेतक राई

    नेपाली काँग्रेसका सचेतक निश्कल राईले पार्टी एकवद्ध भएर १५ औँ महाधिवेशनमा जाने बताउनुभएको छ । बुधवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र रहेका सबै प्रकारका विचार र सबैको अस्तित्वलाई स्वीकार गदै छलफल तथा मन्थनबाट निष्कर्षमा पुग्न सकिने बताउनु भयो । उहाँले अहिले पनि पार्टीभित्र देखिएको समस्या समाधानका लागि शीर्ष तहका नेताहरु छलफलमा जुटिरहेको बताउनु भयो । 

    ४५. चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना एमाले सांसद ठगुन्नाको माग

    नेकपा (एमाले)का सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँ प्रत्येक वर्ष मनसुनको समयमा दार्चुलाका अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा महाकाली नदी तटीय क्षेत्रका नागरिक जोखिम मोलेर बस्ने गरेको बताउनु भयो । 

    ४६. जलवायु परिवर्तनबाट भएको हानिको न्यायोचित क्षतिपूर्ति नेपालको कानूनी र नैतिक अधिकार होः सांसद काउचा

    नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागि भएर हिमालको संरक्षण र जलवायु न्यायको लागि ठोस पहल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जलवायुजन्य विपद्बाट हुने क्षतिको क्षतिपूर्ति नेपालको कानूनी तथा नैतिक अधिकार भएको पनि बताउनुभयो । 

    ४७. जेन–जी आन्दोलन ‘हाइज्याक’ गरेर सिंहदरबार जलाउने को थियो ?ः नेकपा सांसद विक

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न गर्न सक्यो कि सकेन ? भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन–जी आन्दोनभावनाअनुसार मुलुक अगाडि बढ नबढेको विषयमा समीक्षा हुन आवश्यक रहेको बताउनु भयो । उहाँले २३ भदौको आन्दोलन जेन–जीहरूको भएपनि २४ भदौमा आन्दोलन हाइज्याक भएको दाबी गर्नुभयो ।

    ४८. जेन–जी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न सफल भए–नभएको गम्भीर समीक्षा गर्नुपर्छः सांसद केसी

    नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवयक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गत वर्षको जेनजी पुस्ताको आन्दोलन सरकार परवर्तनको लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनको लागि भएको उहाँको भनाइ छ । 

    ४९. जेन–जी शहिदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री पुरुषोत्तम यादवले जेन–जी शहिदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जेन–जी आन्दोलन सत्ता प्राप्तीको लागि नभई मुलुकमा सुशासन कायन गर्नको लागि भएको समेत जिकिर गर्नुभयो ।

    ५०. निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत

    नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको टिप्पणी गर्नुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले निर्वाचनअघि विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्व परिवर्तन भए मात्रै परिणाम आउने दाबी गरेको भएपनि जनताले अस्वीकार गरिदिएको बताउनु भयो । 

    ५१. प्रधानमन्त्रीसँग जेन–जी शहीदकी आमाले सोधिन्– शहीदले न्याय कति वर्षपछि पाउँछ ?

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडाले शहीदहरुले कहिले न्याय पाउँछन् भनेर सरकारसँग प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले जेन–जी शहीदको स्मृतिमा मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहसँग अुन्तुष्टि समेत जनाउनु भयो । उहाँले जेन–जी शहिदहरुको बारेमा बोलिदिन माग गर्दा एकवर्षपछि श्रदाञ्जली आएको उल्लेख गर्दै शहीदहरुले न्याय कति वर्षमा पाउँछन् ? भन्दै प्रश्न गर्नुभयो ।

    ५२. बाढीपीडितको स्वभाविक आक्रोशमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गरेको पाइए कारबाही गर्छौँः रवि लामिछाने

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढीमा आफन्त गुमाएका नागरिकको स्वभाविक आक्रोश केन्द्रित टिकाटिप्पणी नगर्न उहाँले चेतावनी दिनुभएको हो । 

    ५३. मेलमिलापसम्बन्धी विधेयक सहज, छिटो, छरितो र कम खर्चिलो न्याय प्रदान गर्ने प्रभावकारी माध्यम बन्नसक्छः कानूनमन्त्री

    प्रतिनिधि सभाबाट मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव बहुमतले स्वीकृत भएको छ । सभाको बुधवारको बैठकले उक्त प्रश्तावलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकमा विधेयकमाथि सैद्धान्ति छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी संशोधन विधेयक पारित भएर अदालतमा रहेको मुद्दाको चाप घटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    ५४. विपद् प्रतिकार्यमा सरकारको भुमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँः रवि लामिछाने

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउँने ठाउँ नरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढी प्रतिकार्यमा सरकारको बचाउ गर्नुभएको हो । उहाँले विपद्को समयमा सरकारको भुमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने पनि बताउनु भयो । 

    ५५. सुधन गुरुङलाई नेकपा सांसद पुनको प्रश्न– पुरानालाई जनताले दण्डित गरिसके, अब के देखाइदिने हो ?

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले वर्तमान सरकार जेन–जी पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारमा बसेकाहरुले नागरिक समाज र अन्य राजनीतिक दलहरुसँग समेत संवाद गर्न नचाहेको उल्लेख गर्दै सरकार एक्लैले मात्र राज्य सञ्चालन गर्न असम्भव हुने बताउनु भयो । उहाँले मुलुकको लोकतन्त्र, स्वाधीनता र संविधानमाथिको खतरा समेत बढ्दै गएको बताउनुभयो । 

    ५६. हिमालको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाऔँः सांसद राणा

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदिको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण हिमनदी पग्लिने क्रम तिब्र बन्दै गएको भन्दै हिमनदी र हिमालको संरक्षण तथा निगरानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

    ५७. व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला

    नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सबै राजनीतिक दलहरूको आन्तरिक एकता कमजोर बन्दै गएको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएका राजनीतिक दलहरूको आन्तरिक जीवन र संगठनको मूलयाङ्कन गर्दा एकता कमजोर भएको देखिएको उहाँको भनाइ छ ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - २०:०५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij