Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो

भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो


  • 1.6K
    Shares

    भारतबाट उद्धार गरिएका १५ नेपाली बालबालिकालाई भैरहवा ल्याइयो
    images

    काठमाडौं । भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार गरी नेपाल ल्याइएको छ।

    मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्दै आएको भारतस्थित संस्था ‘किन इन्डिया’को पहलमा महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट उनीहरूको फरक–फरक समयमा उद्धार गरिएको हो। उद्धार गरिएका उनीहरूलाई रुपन्देहीको भैरहवा ल्याइएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार कानुनी प्रक्रिया पूरा गरी अभिभावक तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ।

    ‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उनीहरूमध्ये पाँच जना बालिका तथा किशोरी रहेका छन्।

    जोशीका अनुसार केही बालकलाई मदरसामा पढाउने भन्दै अवैध रूपमा भारत लगिएको पाइएको थियो। जोखिमपूर्ण अवस्थामा रहेको जानकारीपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा सम्बन्धित स्थानमा छापा मारेर उनीहरूको उद्धार गरिएको हो।

    त्यस्तै, केही बालिका तथा किशोरी घरेलु हिंसा सहन नसकेर घरबाट भागी भारत पुगेको पाइएको छ। केही बालबालिका दिल्लीका रेल्वे स्टेसनमा अलपत्र अवस्थामा समेत भेटिएका थिए।

    उद्धारपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउन लागिएको जोशीले बताए।

    उद्धार गरिएका बालबालिकालाई तीनवटा गाडीमार्फत रुपन्देही ल्याइएको हो। नेपाल ल्याउने क्रममा ‘किन इन्डिया’का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल पनि सहभागी थिए।

    उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी मधेस प्रदेशसहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पा, कञ्चनपुर र कैलालीलगायत जिल्लाका रहेका छन्।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १३:१२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij