२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि वितरण गर्न तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता परीक्षण गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा भण्डारण गरिएका राहत सामग्रीको स्थलगत अनुगमन गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्मासहितको टोलीले तीनवटा भण्डारणस्थलमा पुगेर सामग्रीको निरीक्षण गरेको जनाएको छ।
अनुगमनका क्रममा जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको जुस तथा आयोडिनयुक्त नुनलगायत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता परीक्षण गरिएको थियो।
विभागका अनुसार अधिकांश प्याकेटबन्द खाद्य सामग्रीको अवस्था सन्तोषजनक पाइएको छ। ती सामग्रीमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना स्पष्ट उल्लेख हुनुका साथै उपभोग्य म्यादसमेत कायम रहेको पाइएको छ।
तर, राहतका लागि संकलन गरिएको उसिना र मसिना चामल भने कुनै पनि लेबलबिना खुला अवस्थामा राखिएको भेटिएको छ। खुला खाद्यान्नको स्रोत तथा गुणस्तर यकिन गर्न कठिन हुने भन्दै विभागले यसप्रति चासो जनाएको छ।
विभागले राहत सामग्री वितरण गर्दा ‘असल वितरण अभ्यास’ पालना गरी सुरक्षित र गुणस्तरीय खाद्य सामग्री मात्र पीडितसम्म पुर्याउन सम्बन्धित निकाय तथा व्यवस्थापकलाई निर्देशन दिएको छ। विपद्का समयमा नागरिकको स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij