२०८३ आश्विन २८ गते बुधवार
सरकारी तवरबाट अधिकतम प्रयासका बावजुद तत्काल राहत नपाईएको गुनासो आएपछि बाढीपहिरोबाट प्रभावित रसुवाका नागरिकलाई सहयोग गर्न ककनी, नुवाकोटस्थित मात्रगाउँ युवा क्लबका सचिव रोशन कालिकोटेको नेतृत्वको टोली राहत सामग्री बोकेर रसुवाको बाढी प्रभावित विकट क्षेत्रमा पुगेको छ ।
अकल्पनिय विपद्ले निम्त्याएको कठिन परिस्थितिमा संकटमा परेका नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यका साथ क्लबले विभिन्न सामग्री संकलन गरी रसुवाको धारापानीस्थित दुईवटा होल्डिङ सेन्टरमा पु¥याएको हो ।
दाल, चामल, खाजा तथा लत्ताकपडालगायत दैनिक जीवनमा आवश्यक सामग्री लिएर गएको टोलीले होल्डिङ सेन्टरमा राहत सामग्री वितरण गरेको थियो । त्यससँगै स्वास्थ्य क्षेत्रबाट समेत सहयोग पु¥याउने उद्देश्यले टोलीमा एपोलो लाईफ केयरका हेमकुमार बुढाथोकीको सहभागिता रहेको थियो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रसँग जोडिएको टोलीको उपस्थितिले प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा आवश्यक स्वास्थ्य सहयोगका विषयमा समेत सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको क्लबको टोलीले त्यहाँ रहेका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको अवस्था तथा तत्काल आवश्यकताबारे जानकारीसमेत लिएको थियो। विपद्का कारण विस्थापित तथा कठिन परिस्थितिमा रहेका नागरिकसम्म सकेसम्म छिटो पुगेर सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ ।
क्लबका सचिव रोशन कालिकोटेले विपद्को समयमा प्रभावित नागरिकलाई साथ दिनु सबैको साझा दायित्व भएको बताए। आफूहरूले सक्ने सहयोग लिएर कठिन परिस्थितिका बीच प्रभावित क्षेत्रसम्म पुग्ने प्रयास गरिएको उनको भनाइ छ ।
æविपद्को समयमा पीडामा रहेका नागरिकलाई साथ दिनु नै हाम्रो मुख्य उद्देश्य हो। हामीले सक्ने सहयोग लिएर प्रभावित क्षेत्रसम्म पुग्ने प्रयास गरेका हौँ,Æ कालिकोटेले भने ।
उनले राहत सामग्री वितरणलाई केवल सामान हस्तान्तरण गर्ने कामका रूपमा नभई विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउने अभियानका रूपमा लिनुपर्ने बताए। आवश्यकता र परिस्थितिअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने क्लबको तयारी रहेको उनले बताए ।
यसैगरी, क्लबका अध्यक्ष विनोद लामाले विपद्को समयमा प्रभावित नागरिकसम्म सहयोग पु¥याउन युवा तथा स्थानीय समुदायको सक्रियता महत्वपूर्ण हुने बताए। राहतमा खाद्यान्न, खाजा र लत्ताकपडासँगै स्वास्थ्यसम्बन्धी सहयोगलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले विपद्को समयमा नागरिकको स्वास्थ्य सुरक्षातर्फ समेत ध्यान दिन आवश्यक रहेको बताए ।
स्वास्थ्य क्षेत्रबाट सहभागी ८हेमकुमार बुढाथोकी८ले प्रभावित नागरिकको अवस्था नजिकबाट बुझ्ने र स्वास्थ्यसम्बन्धी आवश्यकतामा सक्दो सहयोग गर्ने प्रयास गरिएको बताए । विपद्पछिको अवस्थामा खाद्यान्न र बसोबाससँगै स्वास्थ्य सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले मानवीय सहयोगलाई स्वास्थ्य सेवासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
मात्रगाउँ युवा क्लबको टोलीले राहत बोकेर रसुवाको विकट प्रभावित क्षेत्रमा पुगेर गरेको यो पहलले विपद्को समयमा स्थानीय युवा, सामाजिक संस्था तथा स्वास्थ्य क्षेत्रको सहकार्यको महत्वसमेत देखाएको छ । कठिन अवस्थामा रहेका नागरिकलाई आवश्यक सामग्रीसँगै स्वास्थ्य सुरक्षाको अनुभूति दिलाउने यो प्रयासले मानवीय ऐक्यबद्धताको सन्देश दिएको स्थानीयको प्रतिक्रिया छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij