२०८२ भाद्र ४ गते बुधवार
उदयपुर । उदयपुरको ताप्ली गाउपालिका ४ पोखरीस्थित कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे बोलेरो दुर्घटना भएको छ ।
लहानबाट लखनडाँडातर्फ मिलको मेसिन बोकेर जाँदै गरेको बा१८च १५६७ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो । त्यसमा सवार ४ जनामध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० वर्षीय इन्द्र बहादुर बिक रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाउँ ज्यामिरेका ३० वर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ बर्षीय डम्वर बहादुर तामाङ घाइते भएका छन् ।
प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले घाइतेहरुमध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको छ । अर्का घाइते तामाङ सामान्य हात खुट्टा चोट लागेकोले सामान्य उपचारपश्चात् घरमा नै छन् ।
दुर्घटनामा परी मृत्यु भएका बिकको शव घटनास्थलमै रहेकोले कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय कटारीबाट प्रनाउको टोली खटिएको जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij