२०८३ श्रावण २९ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले शुक्रबारदेखि राष्ट्रिय भेला आयोजना गर्दैछ । निवर्तमान सभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहको आयोजनामा हुने भेलामा विभिन्न पाँचवटा प्रतिवेदन प्रस्तुत हुने भएका छन् ।
भेलाको शुक्रबार उद्घाटन सत्र मात्र आयोजना हुनेछ भने शनिबारदेखि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् ।
आइतबारसम्म चल्ने भेलामा राजनीतिक, सांगठनिक, आर्थिक तथा विधानसँग सम्बन्धित विषयमा व्यापक छलफल हुने जनाइएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र नेता एनपी साउदले समसामयिक नीति तथा विषयसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, डा। प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रस्तावहरू पेस भएपछि सहभागीहरूलाई विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गराइनेछ । आइतबार समूह संयोजकहरूले आफ्नो धारणा प्रस्तुत गर्ने र प्रस्ताव तथा समूहगत निष्कर्षमाथि छलफल हुनेछ ।
भेलाको अन्त्यमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक विश्वकर्माले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij