२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक प्रतियोगिताको नयाँ मिति तय गरेको हो । बैठकमा सहभागी एक सदस्यका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा सञ्चालन गरिनेछ ।
यसअघि पटक–पटक मिति तोकिए पनि प्रतियोगिता आयोजना हुन सकेको थिएन । २०७९ कात्तिक–मंसिरमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा दशौं खेलकुद २०८१ मंसिरमा कर्णालीमा गर्ने घोषणा गरिएको थियो । तर, आवश्यक पूर्वाधार तयार नभएपछि प्रतियोगिता स्थगित भयो ।
त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म गर्ने भनिएको प्रतियोगिता पुनः सरेर २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय भयो । चौथोपटक फागुन १ देखि ७ गतेसम्म गर्ने तयारी भए पनि आर्थिक अभाव देखाउँदै आयोजना हुन सकेन ।
राखेपले त्यसपछि जेठमा प्रतियोगिता गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेन । पछिल्लो पटक जेनजी मन्त्री बब्लु गुप्ताले २०८२ फागुनमा दशौं राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेका थिए । तर, उनी चुनावी तयारीका लागि मन्त्री पदबाट राजीनामा दिएपछि उक्त निर्णय पनि कार्यान्वयन हुन सकेन ।
अब भने राखेपले मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने गरी नयाँ मिति तोकेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij