२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले गत फागुनको चुनावअगाडि स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बुधबारबाट औपचारिक रूपमा विभाजन भएको छ।
नेपाली राजनीतिमा तेस्रो धार र वैकल्पिक शक्तिको हाँक दिएर उदाएको प्रलोपा भट्टराईको पहलमा स्थापना भएको अन्तिम पार्टी पनि थियो । तर, राजनीतिक कार्यक्रम, जिम्मेवारी बाँडफाँट, समन्वय लगायतका विषयमा विवादित हुँदै गएर अन्ततः पार्टी विभाजन भयो ।
अर्थात् पार्टीले वैकल्पिक चरित्रको न्यूनतम् मानक प्रदर्शन गर्न सकेन र बुबार दुवै पक्षले औपचारिक रूपमै सम्झौता गरेर आ–आफ्नो बाटो’ लाग्ने निर्णय गरेका हुन् । प्रलोपाको अध्यक्ष परिषद्का सदस्यद्वय दुर्गा शोव र सन्तोष परियारबीच बुधबार भएको आठबुँदे लिखित समझदारीले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्नको व्यवस्थापनलाई टुंगो लगाएको छ ।
सहमतिअनुसार दुर्गा शोवको नेतृत्वमा रहने समूहले अब आफूलाई ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ का रूपमा स्थापित गर्नेछ, आँखा चुनाव चिह्न उसैले लिनेछ । जुन पार्टी डा. भट्टराईले नै बनाएका थिए । अर्कोतर्फ सन्तोष परियारको नेतृत्वमा रहने पक्षले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ नामलाई नै निरन्तरता दिने सहमति भएको छ । यो पक्षले अब ‘आँखा’बाहेकको नयाँ निर्वाचन चिह्न र तीन रङको झण्डाका लागि निर्वाचन आयोगमा कानुनी प्रक्रिया सुरू गरेर दर्ता हुने जनाइएको छ ।
गत फागुन २१ गते भएको निर्वाचनमा भट्टराई पक्षधरले देशका धेरै निर्वाचन क्षेत्रमा रास्वपालाई समर्थन गरेको थियो । तर, स्वयं भट्टराईले भने गोर्खामा नेपाली कांग्रेसलाई समर्थन गरेका थिए । त्यस्तैगरी, जनार्दन शर्मा नेतृत्वको समूहले पनि निर्वाचनमा विशेषगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)विरोधी शक्तिसँग सहकार्य गर्ने नीति लिएको लिएको थियो । जसले गर्दा पार्टीमा निर्वाचनको समयमा एउटै नीति र अभ्यास बन्न सकेको थिएन ।
जनार्दन शर्मासँगै नेकपा छाडेर प्रलोपामा जोडिएका नेता सुधन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरे । उनी अहिले हर्क साम्पाङ नेतृत्वको उक्त दलका वरिष्ठ नेता छन्। यता डा. बाबुराम भट्टराईले पनि पार्टी छाडेर स्वतन्त्र भए । एकातिर पार्टीको लथालिंग अवस्था, अर्कातिर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएपछि जनार्दन शर्मा प्रलोपाबाट टाढिँदै गए ।
पछिल्लो समय यही मंगलबार जनार्दन शर्मा उपेन्द्र यादव, प्रभु शाह, सिके राउत र रेशम चौधरी सहितको नयाँ मोर्चा निर्माण गर्ने पहलमा लागेका छन् । प्रलोपा फ्लप भएपछि जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र छोडेर फागुन २१ को निर्वाचनअगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य थाल्न लागेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij