२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही साउन २८ गते नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।
नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय दुई नेताले गरेका हुन्। पटक पटकको संवादपछि ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न लागिएको हो । उक्त अभियानमा पाँचथरका युवा नेता संलग्न सगुन लावतीसहित छन् । पार्टीको नाम, झण्डा र अन्य प्राविधिक विषय मिलेकाले साउन २८ गते दर्ता गर्ने टुंगो भएको हो ।
नयाँ पार्टीको सभापतिमा अब धवल शमशेर राणा रहनेछ भने सर्वोच्च नेताको पद दुर्गा प्रसाईका लागि सर्जित गरिएको छ। राप्रपाका तत्कालीन महामन्त्री डा. राणाले गत जेठ २१ गते साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । उनको नेतृत्वमा उपाध्यक्ष मुकुन्दश्याम गिरी र पूर्वमन्त्री दीलनाथ गिरीसहित १८३ जना नेता तथा कार्यकर्ताले राप्रपा छाडेका थिए ।
उता दुर्गा प्रसाईं भने राजावादी र हिन्दु राष्ट्रको अभियानमा एक्लै कुदेका छन् । उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’ चलाउँदै आएका थिए । जसले देशको अर्थतन्त्रमा आएको मन्दी, बैंक तथा लघुवित्तको ऋणको दबाब, वैदेशिक रोजगारीमा युवाको बढ्दो पलायन र वर्तमान राजनीतिक प्रणालीकाविरुद्ध आवाज उठाउँदै आएको छ।
उनी कुनै बेला तत्कालीन नेकपा माओवादीका कार्यकर्ता थिए। उनी वर्तमान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रियपात्र थिए । त्यसपछि उनी एमालेमा लागेर अर्थ विभागको उपप्रमुख हुँदै केन्द्रीय सदस्यसमेत भए ।
तर अध्यक्ष ओलीले बेवास्ता गर्न थालेपछि उनी एमाले छाडेर राजावादी भए । उनले २०८१ चैत १५ गते काठमाडौंमा गरेको राजावादी आन्दोलनमा कम्तीमा २ जनाले ज्यान पनि गुमाए । प्रसाईं पछिल्लो समय विवादित अभिव्यक्तिले पक्राउ पर्दै छुट्दै गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij