२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौँ । प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलास आज बस्दै छ । यसअघि सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएका कारण स्थगित इजलास आज बस्ने भएको हो ।
पहिलेको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि गत आइतबार प्रधानन्यायाधीशको नेतृत्वमा पुनर्गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
तर यस इजलासले पनि संसद् विघटन मुद्दा हेर्न नपाउने भन्दै सरकारी पक्षका वकिलले बखेडा झिकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबारका लागि पेसी तोकिएको थियो । तर त्यस दिन प्रधानन्यायाधीश अस्वस्थ भएको भन्दै सुनुवाइ स्थगन गरिएको थियो ।
अब इजलास आज बस्ने सर्वोच्च अदालतले जनाएको छ । सरकारी पक्षका वकिलको विरोधका बीच आज सुनुवाइ कसरी अघि बढ्ला भन्ने आम चासो छ ।
इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित सुनुवाइ सुरु नै हुन सकेको छैन । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् । जसमा प्रधानमन्त्री ओलीकै पक्षबाट पनि ५ वटा निवेदन छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले यही जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन गराउने घोषणा गरेकी छन् ।
त्यसअघि उनकै आह्वानअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी प्रस्तुत गरे पनि बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसद आफ्ना पक्षमा रहेको दाबी गरेपछि राष्ट्रपतिले दुवैको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् ।
त्यहीविरुद्ध देउवासहित १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा मुद्दा हालिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij