२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्वसम्बन्धी विवाद समाधानका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश नेतृत्वसँग छलफल सुरु गरेका छन् ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा भइरहेको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी सहभागी छन् ।
पछिल्ला केही दिनयता कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर एमालेभित्र विवाद चर्किएको छ। अध्यक्षको निर्देशन भन्दै प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री कार्कीसँग राजीनामा मागेपछि विवाद थप तीव्र बनेको हो ।
मुख्यमन्त्री कार्कीले भने आफूले व्यक्तिगत रूपमा राजीनामा नदिने र त्यसका लागि पार्टीको संस्थागत निर्णय आउनुपर्ने अडान सार्वजनिक गरेका थिए ।
सोही विवाद समाधानका लागि अध्यक्ष ओलीले प्रदेश नेतृत्वलाई गुण्डु बोलाएर छलफल थालेका हुन् । छलफल जारी रहेकाले यसबारे औपचारिक निर्णय आउन बाँकी रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij