२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशन तयारीका लागि पार्टीले १६ वटा विभिन्न समिति गठन गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेता निरञ्जन थापाको अध्यक्षतामा रहेको विधान मस्यौदा समितिमा सदस्यहरू थप गर्ने निर्णय समेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सुनसरीमा भएको धार्मिक तथा जातीय द्वन्द्वको घटनाप्रति दुःख व्यक्त गरे। उनले सरकारको कमजोरीका कारण देशले क्षति व्यहोर्नुपरेको दाबी गर्दै यस्ता संवेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए।
उनले घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।
देशमा बढ्दो धार्मिक तथा जातीय विवादको मुख्य कारण वर्तमान संविधान र यसले अंगीकार गरेका केही व्यवस्थाहरू रहेको राप्रपाको धारणा रहेको लिङ्देनले बताए। उनले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने पार्टीको अडान दोहोर्याए।
सत्ता नेतृत्व र शक्तिको बाँडफाँटका विषयमा सोधिएको प्रश्नमा लिङ्देनले पार्टी सभापतिभन्दा बाहिरको व्यक्तिले सरकारको नेतृत्व गर्दा शक्ति पृथकीकरणमा समस्या देखिन सक्ने टिप्पणी गरे।
उनले राप्रपाले सडक र सदन दुवै माध्यमबाट हिन्दू राष्ट्रको मुद्दा उठाउँदै जाने र आगामी दिनमा यसलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij