२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साउनको अन्तिम साता प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्य संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभा बैठक साउन २५ देखि ३० गतेभित्र बोलाउने तयारी भइरहेको छ । प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरका अनुसार सरकारसँग बैठक आह्वानबारे छलफल भइरहेको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ । मन्त्री छनोटमा एमाले र नेकपाभित्र आकांक्षी धेरै भएपछि सरकार विस्तार प्रक्रिया रोकिएको हो ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ । एमालेले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
कांग्रेसले साउन १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे भने अझै छलफल जारी छ ।
हाल लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई मन्त्री छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय कायम छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij