Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस सांसदले अब ‘रिपोर्ट कार्ड’ बुझाउनुपर्ने, कार्यसम्पादन मूल्याङ्कनको नयाँ व्यवस्था लागू

कांग्रेस सांसदले अब ‘रिपोर्ट कार्ड’ बुझाउनुपर्ने, कार्यसम्पादन मूल्याङ्कनको नयाँ व्यवस्था लागू


  • 1.2K
    Shares

    कांग्रेस सांसदले अब ‘रिपोर्ट कार्ड’ बुझाउनुपर्ने, कार्यसम्पादन मूल्याङ्कनको नयाँ व्यवस्था लागू
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले अब आफ्नो कार्यसम्पादन मूल्याङ्कनका लागि अनिवार्य रूपमा ‘रिपोर्ट कार्ड’ तयार गर्नुपर्ने भएको छ ।

    पार्टीको संसदीय भूमिकालाई थप व्यवस्थित, तथ्यमा आधारित र परिणाममुखी बनाउने उद्देश्यले कांग्रेस संसदीय दलले ‘सांसद समन्वय सम्बन्धी कार्यादेश २०८३’ जारी गरेको हो । सोमबार बसेको संसदीय दलको बैठकले उक्त कार्यादेश पारित गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन् ।

    कार्यादेशअनुसार प्रत्येक सांसदले आफूले जिम्मेवारी पाएको जिल्लाका जनसरोकारका विषय, संसद्मा उठाएका मुद्दा, सरकारको ध्यानाकर्षण गराएका विषय र त्यसबाट प्राप्त उपलब्धिसहितको संक्षिप्त प्रतिवेदन नियमित रूपमा संसदीय दलमा बुझाउनुपर्नेछ ।

    सांसदहरूको मूल्याङ्कन जिल्लासँगको समन्वय, उठाइएका विषयको प्रभावकारिता र समस्या समाधानमा भएको प्रगतिका आधारमा गरिने कांग्रेसले जनाएको छ ।

    नयाँ व्यवस्थाअनुसार कांग्रेसका संघीय सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रसँगै संसदीय दलले तोकेका थप जिल्लाका समस्या, विकास निर्माण र जनसरोकारका विषयसमेत संसद्मा उठाउनुपर्नेछ ।

    कार्यादेशमा सांसदहरूले तीन महिनाभित्र आफूलाई तोकिएको जिल्लामा भौतिक उपस्थित भई जिल्ला समन्वय संयन्त्र निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि पार्टी समिति, निर्वाचनका उम्मेदवार, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिसँग नियमित छलफल र समन्वय गर्नुपर्नेछ ।

    कांग्रेसले सांसदहरूलाई नागरिक समाज, सरोकारवाला संस्था, विषय विज्ञ र युवासँग प्रत्यक्ष संवाद गरी शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, विपद् व्यवस्थापन र सामाजिक सुरक्षासँग सम्बन्धित समस्या संसद्मा उठाउन निर्देशन दिएको छ ।

    किसानका समस्या, सडक तथा खानेपानीको अवस्था, सुकुम्वासी र भूमिहीनका मुद्दा, सरकारी सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितताविरुद्ध आवाज उठाउनु सांसदहरूको प्रमुख जिम्मेवारी हुने कार्यादेशमा उल्लेख छ ।

    यसका लागि कांग्रेस संसदीय दलमा ‘जनसरोकार तथा समन्वय डेस्क’ स्थापना गर्ने व्यवस्था गरिएको छ । उक्त डेस्कले सांसदहरूले उठाएका विषयको अभिलेखीकरण, वर्गीकरण र विश्लेषण गर्नेछ ।

    प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले संसद्लाई जनताको आवाज उठाउने प्रभावकारी थलो बनाउने उद्देश्यले सांसदहरूलाई थप जिम्मेवार बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ ।

    कार्यादेशले सांसद र नागरिकबीचको दूरी घटाउने, सरकारमाथिको संसदीय निगरानी प्रभावकारी बनाउने र जनप्रतिनिधिको भूमिकालाई उत्तरदायी तथा पारदर्शी बनाउने कांग्रेसको दाबी छ ।

    images
    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १२:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij