२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन जना नेतालाई काठमाडौं बोलाएका छन् । मुख्यमन्त्री कार्कीलाई राजीनामा गराएर नयाँ मुख्यमन्त्री बनाउने प्रयास तत्काल सफल नदेखिएपछि ओलीले छलफलका लागि कार्कीसहितका नेताहरूलाई काठमाडौं बोलाएका हुन् ।
एमाले प्रदेश इन्चार्ज तथा सचिव शेरधन राईमार्फत कार्कीलाई राजीनामा दिन लगाउने प्रयास भए पनि मुख्यमन्त्री कार्कीले अस्वीकार गरेपछि एमालेभित्रको विवाद थप चर्किएको छ ।
ओलीको निर्देशनअनुसार राई सोमबार विराटनगर पुगेका थिए । उनले मुख्यमन्त्री कार्कीसहित प्रदेशका नेताहरूसँग नयाँ मुख्यमन्त्री चयनबारे छलफल गरेका थिए । तर, बैठकमा कार्कीले पार्टीको औपचारिक निर्णयबिना कसैको आग्रहमा राजीनामा नदिने अडान राखेपछि विषय थप पेचिलो बनेको हो ।
एमाले अध्यक्ष ओलीले मुख्यमन्त्री कार्की, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इन्चार्ज शेरधन राईलाई काठमाडौं बोलाएको ओली निकट स्रोतले जनाएको छ । तीनै जना मंगलबार काठमाडौं पुगेर ओलीसँग छलफल गर्ने तयारीमा छन् ।
ओली निवास गुण्डुमा हुने छलफलपछि कोशी प्रदेशमा नेतृत्व परिवर्तन हुने वा कार्कीले नै निरन्तरता पाउने भन्ने टुंगो लाग्ने बताइएको छ ।
स्रोतका अनुसार अध्यक्ष ओली ताप्लेजुङका प्रदेश सांसद तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनाउन चाहन्छन् । सोहीअनुसार कार्कीलाई राजीनामा गराएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढाइएको थियो ।
तर, मुख्यमन्त्री कार्कीले आफूले पद छाड्नुपर्ने भए पार्टी सचिवालयबाट लिखित निर्णय आउनुपर्ने अडान लिएका छन् । उनले मौखिक निर्देशनका आधारमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।
यसअघि ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच भएको छलफलमा कार्कीलाई नै निरन्तरता दिने सहमति भएको बताइएको थियो । तर, उक्त सहमतिविपरीत नेतृत्व परिवर्तनको प्रयास भएपछि एमालेभित्र पुनः विवाद देखिएको हो ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीले आफूलाई हटाउन संस्थागत निर्णय आवश्यक पर्ने अडान राख्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij