२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल नयाँ सैन्य आक्रमण नगर्ने र वार्तालाई प्राथमिकता दिने संकेत दिएपछि तेलको मूल्यमा कमी आएको हो । उता, सोमबार सुनको मूल्य भने बढेको छ ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा उक्त दिन स्पट गोल्डको मूल्य शून्य दशमलव ४ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ५५ डलर ७६ सेनट पुगेको छ । यूएस गोल्ड फ्युचर्स पनि शून्य दशमलव ९ प्रतिशतको वृद्धिसहित प्रतिऔंस ४ हजार ५४ डलर पुगेको छ ।
ट्रम्पले अमेरिका र इरानबिच सोमबार वार्ता हुने जानकारी दिएका छन् । तर यस क्रममा उनले सम्झौताका लागि कुनै अन्तिम समयसीमा भने तोकेनन् । वार्ताको आशा बढेसँगै तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव सुरु भएदेखि नै बढ्दो मुद्रास्फीतिको चिन्ताले सुनको मूल्यमा दबाब परेको थियो । युद्धका कारण मुद्रास्फीति बढेमा केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने भएकाले ब्याज नदिने सम्पत्ति मानिने सुनको आकर्षण घट्ने सम्भावना रहन्छ ।
सोमबार कमोडिटी बजारमा अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । चाँदीको मूल्य शून्य दशमलव ९ प्रतिशतले बढेर प्रतिऔंस ५८ डलर १३ सेन्टमा पुगेको छ । उक्त दिन प्लाटिनम शून्य दशमलव ५ प्रतिशतले बढेर १ हजार६४९ डलर ३५ सेन्ट पुग्दा प्यालेडियममा १ दशमलव ७ प्रतिशतको वृद्धिसहित १ हजार २९४ डलर ९२ सेन्टमा उक्लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij