२०८३ श्रावण २८ गते बिहिवार
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक ठूलो’ सैन्य आक्रमण अन्तिम समयमा रोक्दै सोमबारदेखि तेहरानसँग नयाँ वार्ता सुरु हुने बताएका छन्।
एयर फोर्स वान (राष्ट्रपति चढ्ने विमान) मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूलाई ९इरानलाई० आक्रमणको भयावहताबारे थाहा थियो किनकि उनीहरूले त्यसको तयारी देखिसकेका थिए। हामी उनीहरूसँग वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमबार दिउँसोदेखि सुरु हुनेछ।”
यसअघि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा पोस्ट गर्दै ट्रम्पले इरान र मध्यपूर्वी सहयोगी राष्ट्रहरूको अनुरोधमा सम्झौताको ‘खाका’ तयार भइसकेकाले सम्भावित आक्रमण स्थगित गरिएको उल्लेख गरेका थिए।
सम्झौताका लागि कुनै निश्चित समयसीमा नतोकिएको र आफू मानिसहरूको ज्यान लिन नचाहेको ट्रम्पको भनाइ छ। ट्रम्पका अनुसार साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसहित संयुक्त अरब इमिरेट्स ९युएई० र कतारजस्ता साझेदार मुलकले पनि सप्ताहन्तमा आक्रमण नगर्न आग्रह गरेका थिए। “हामी आक्रमणका लागि पूर्ण रूपमा तयार थियौँ,” ट्रम्पले थपे, “होर्मुज जलडमरूमध्य र आणविक मुद्दामा सम्झौता हुने सम्भावना रहेकाले उनीहरूले रोक्न आग्रह गरेका हुन्।”
ट्रम्पको यो घोषणासँगै एसियाली बजारमा सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य ४.५ प्रतिशतले घटेर प्रतिबैरल ८३.९८ डलर पुगेको छ भने अमेरिकी तेलको मूल्य ४.६ प्रतिशतले घटेर ८०.७४ डलरमा झरेको छ। गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण विश्वको झन्डै २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलपीजी) ओसारपसार हुने होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना भएपछि इन्धनको मूल्यमा उतारचढाव आइरहेको छ।
यता, इरानको अर्ध(सरकारी समाचार संस्था ‘मेहर’ ले भने तेहरानले आक्रमण रोक्न अमेरिकालाई कुनै आग्रह नगरेको जनाउँदै ट्रम्पको दाबीलाई ‘नयाँ झूट’ भनेको छ। तर, इरानी विदेशमन्त्री अब्बास अराघचीले भने ओमानसँग होर्मुज जलडमरूमध्यबारे भइरहेको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले सोमबार हुने भनिएको वार्ता कहाँ र कसकसको सहभागितामा हुन्छ भन्ने स्पष्ट पारेका छैनन्। यदि यो आक्रमण भएको भए ‘दोस्रो विश्वयुद्धपछिकै ठूलो’ हुने र यसले महिनौँदेखि जारी युद्ध अन्त्यको सम्भावनालाई समाप्त पार्न सक्ने ट्रम्पको तर्क छ। इरानको कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल-रिजाले भने आफ्ना विरोधीबाट आउने हरेक धम्कीलाई गम्भीरताका साथ लिएको र रणनीतिक रूपमा सजग रहेको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij