Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस विभाजन रोक्न तेस्रो धारको प्रयास, राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस विभाजन रोक्न तेस्रो धारको प्रयास, राष्ट्रिय एकता भेलाको घोषणा


  • 631
    Shares

    कांग्रेस विभाजन रोक्न तेस्रो धारको प्रयास, राष्ट्रिय एकता भेलाको घोषणा
    images

    काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको छ । अभियानले पत्रकार सम्मेलन गर्दै साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने निर्णय गरेको जानकारी गरायो ।

    पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले बताए ।

    अभियानद्वारा जारी वक्तव्यमा देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गरिएको छ । सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको तर्फ अभियानले ध्यानाकर्षण गराएको छ ।

    सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको वक्तव्यमा जनाइएको छ ।

    ‘कांग्रेस विभाजित हुँदा प्रतिगामी शक्तिहरू हाबी हुने र लोकतन्त्र कमजोर हुने ऐतिहासिक तथ्यलाई आत्मसात् गर्दै हामीले यो अभियान सुरु गरेका हौँ,’ वक्तव्यमा भनिएको छ ।

    सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरिने राष्ट्रिय एकता भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका साथै विभिन्न तह, वर्ग र समुदायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिने आयोजकको दाबी छ ।

    भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताए ।

    यो अभियान कुनै व्यक्ति, गुट वा पदका लागि नभई ‘एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपाल’ को साझा संकल्प भएको उनीहरूको दाबी छ। वक्तव्यको अन्त्यमा भनिएको छ, ‘कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ ।’

    images
    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - १२:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij