२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते हुने राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वय गर्न १० जना नेतालाई जिम्मेवारी तोकिएको छ। सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहका शीर्ष नेताहरूको बैठकले विभिन्न संगठन परिचालनको जिम्मेवारी बाँडफाँट गरेको हो।
बैठकले राष्ट्रिय भेलाको प्रचारप्रसार समितिको संयोजकमा नेता मीन विश्वकर्मालाई जिम्मेवारी दिएको छ। विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मा पनि पाएका छन्। त्यस्तै, नेपाल विद्यार्थी संघ परिचालनको जिम्मा कुन्दनराज काफ्ले, नेपाल तरुण दलको जिम्मा जीतजंग बस्नेत र नेपाल महिला संघको जिम्मा उषा राउत मिश्रलाई दिइएको छ।
नेपाल दलित संघ परिचालनमा यमुना विश्वकर्मा, नेपाल किसान संघमा गणेश तिमिल्सिना र लोकतान्त्रिक आदिवासी जनजाति परिचालनमा जगत बरामलाई जिम्मेवारी दिइएको छ। यस्तै, मोहनबहादुर बस्नेतलाई काठमाडौं जिल्ला सम्पर्क समिति तथा खेलकुद समन्वय, किरण पौडेललाई विदेश जनसम्पर्क समिति र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनको जिम्मा दिइएको छ।
इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ। साउन १६ गतेभित्र प्रतिनिधि परिचालन गरिसक्ने तयारी रहेको बताइएको छ।
संस्थापन पक्षसँग सहमतिको प्रयास जारी रहे पनि राष्ट्रिय भेला नरोकिने इतर समूहको भनाइ छ। सहमति भए भेला ‘एकता भेला’ मा परिणत हुने र नभए नयाँ राजनीतिक दिशा तय गर्ने नेता मीन विश्वकर्माले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij