२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय डीनको कार्यालयले सत्रान्त परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन नयाँ परीक्षा आचारसंहिता लागू गरेको छ । स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि त्रिविले कडा नियम सार्वजनिक गरेको हो ।
नयाँ व्यवस्था अनुसार परीक्षार्थीले प्रत्येक परीक्षा दिन अनिवार्य रूपमा आधिकारिक प्रवेशपत्र साथमा राख्नुपर्नेछ । परीक्षा हलमा प्रवेश गरेपछि केन्द्राध्यक्षले तोकेको सिटमै बस्नुपर्ने र अनुमति बिना सिट वा परीक्षा भवन छाड्न नपाइने जनाइएको छ ।
त्रिविले परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म कुनै पनि परीक्षार्थीलाई बाहिर जान नदिने व्यवस्था गरेको छ । साथै परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट वाच, चिट, पुस्तक तथा अन्य प्रतिबन्धित सामग्री लैजान पूर्ण रोक लगाइएको छ ।
नक्कल गर्ने, अरूलाई सहयोग गर्ने वा अर्काको नाममा परीक्षा दिने विद्यार्थीमाथि तत्काल कारबाही गरिने त्रिविले चेतावनी दिएको छ । परीक्षा सञ्चालनमा अवरोध गर्ने तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई पनि कडा सजाय हुने जनाइएको छ ।
हालै त्रिविको व्यवस्थापन संकायअन्तर्गतको परीक्षामा प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएपछि विश्वविद्यालयले परीक्षा प्रणाली थप कडाइ गरेको हो । त्रिविले आचारसंहिता उल्लंघन गर्ने परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै निश्चित अवधिसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्न सकिने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij