२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान पार्टीका पदाधिकारी, सात प्रदेशका संसदीय दलका नेता, प्रदेश सभापति र मुख्यमन्त्रीहरूसहितको बैठकले प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने निर्णय गरेको हो ।
हाल कांग्रेसको नेतृत्वमा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकार सञ्चालन भइरहेको छ। तर एमाले र नेकपाबीच पाँच प्रदेशमा नयाँ सत्ता सहकार्यको समझदारी बनेपछि बागमती र सुदूरपश्चिमका सरकारमाथि राजनीतिक चुनौती बढेको छ। यद्यपि मधेस र गण्डकीमा कांग्रेस नेतृत्वको सरकार तत्काल प्रभावित नहुने आकलन गरिएको छ।
बैठकले प्रदेशगत अंकगणित र राजनीतिक अवस्थाअनुसार अन्य दलहरूसँग वार्ता र सहकार्यको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टी नेतृत्वले केन्द्र र प्रदेश दुवै तहमा संवादलाई प्राथमिकता दिने रणनीति बनाएको जनाएको छ।
यसका लागि केन्द्रस्तरमा अन्य दलसँग समन्वय र वार्ताको जिम्मेवारी पार्टीका शीर्ष नेताहरूलाई दिइएको छ। उनीहरूले प्रदेशअनुसारको राजनीतिक अवस्था मूल्याङ्कन गर्दै सम्भावित सहकार्यका विकल्पबारे छलफल गर्नेछन्।
कांग्रेसका नेताहरूले एमाले–नेकपाबीच पाँच प्रदेशमा सहकार्यको सहमति भए पनि सबै प्रदेशमा सहज रूपमा नयाँ सरकार बन्ने अवस्था नरहेको बताएका छन्। त्यसैले आफ्नो नेतृत्वमा रहेका सरकार तथा सत्ता साझेदारी कायम राख्ने सम्भावना रहेका प्रदेशमा अन्तिमसम्म राजनीतिक पहल जारी रहने उनीहरूको भनाइ छ।
विशेषगरी लुम्बिनी प्रदेशमा बहुमतको समीकरण अझै स्पष्ट नभएकाले त्यहाँ पनि सत्ता सहकार्यका लागि विभिन्न दलसँग संवाद अघि बढाइने तयारी गरिएको छ।
बैठकमा सहभागी नेताहरूका अनुसार अहिले नै मुख्यमन्त्री वा मन्त्रीहरूले राजीनामा दिने निर्णय गरिएको छैन। पहिलो प्राथमिकता राजनीतिक सहमति र सरकार जोगाउने प्रयास रहने तथा त्यसपछि मात्र आवश्यक निर्णय लिइने रणनीति अपनाइएको छ।
कांग्रेसले प्रदेशमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने पक्षमा आफू रहेको उल्लेख गर्दै प्रतिपक्ष नै नरहने अवस्थाको पक्षमा नरहेको स्पष्ट गरेको छ। पार्टीले आगामी केही दिनमा प्रदेशगत राजनीतिक घटनाक्रमअनुसार थप निर्णय गर्ने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij