२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । केन्द्रको सत्ता समीकरण परिवर्तनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा पनि देखिन थालेको छ। सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले भोलि (सोमबार) सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।
सत्ता साझेदारीको समीकरण फेरिएपछि सरकारमा निरन्तर बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने निष्कर्षसहित कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालका अनुसार मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाउने योजना बनाएका थिए। तर सार्वजनिक बिदा र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तुमा रहेकाले राजीनामा सोमबारका लागि सारिएको हो।
आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पनि कांग्रेसबाट सरकारमा रहेका सबै मन्त्रीले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने तयारी भएको पुष्टि गरेका छन्।
लुम्बिनी प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकार २०८१ साउनमा गठन भएको थियो। हाल एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन्। तर शनिबार एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणका लागि तीन बुँदे सहमति भएपछि प्रदेश सरकारको समीकरण पनि परिवर्तन हुने निश्चितजस्तै बनेको छ।
कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूमा खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना, पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्।
कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार पुनर्गठन हुने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij