२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग शनिबार भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व अब नेकपा (एमाले) ले गर्ने भएको छ।सहमतिसँगै एमालेभित्र मुख्यमन्त्रीको जिम्मेवारी कसले पाउने भन्ने विषयमा आन्तरिक दौड तीव्र बनेको छ।
मुख्यमन्त्रीका लागि हाल तीन जना प्रदेशसभा सदस्यलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया, पूर्वमन्त्री केशवप्रसाद पोखरेल र निवर्तमान स्वास्थ्यमन्त्री किरण थापाबीच प्रतिस्पर्धा हुने चर्चा एमाले वृत्तमा छ।
चितवन–१ (१) बाट निर्वाचित थपलिया एमाले बागमती प्रदेश संसदीय दलका निर्विरोध नेता हुन्। संसदीय दलको नेताको हैसियतले उनी स्वाभाविक दाबेदार मानिए पनि अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने भएकाले उनको दाबीमात्रै निर्णायक नहुने बताइन्छ।
यता, काठमाडौं–९ (२) बाट लगातार दुई कार्यकाल निर्वाचित भएका पूर्वमन्त्री केशवप्रसाद पोखरेलले पनि मुख्यमन्त्रीमा बलियो दाबी प्रस्तुत गरेका छन्। पार्टीभित्र उनको अनुभव र वरिष्ठतालाई आधार बनाएर नेतृत्वको जिम्मेवारी दिनुपर्ने आवाज उठिरहेको छ।
त्यसैगरी, भक्तपुर–२ (१) बाट निर्वाचित किरण थापा पनि मुख्यमन्त्रीको चर्चामा रहेका अर्को प्रभावशाली नाम हुन्। दुई पटक स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थापा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा एमाले सचिव महेश बस्नेतनिकट मानिन्छन्। कार्यसम्पादन र नेतृत्व क्षमताका आधारमा उनी पनि बलिया दाबेदारका रूपमा हेरिएका छन्।
एमालेको संसदीय विधानमा संसदीय दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने व्यवस्था नरहेकाले दलको सहमति र शीर्ष नेतृत्वको निर्णयअनुसार अन्य सांसदलाई पनि नेतृत्वको अवसर दिन सकिने व्यवस्था छ। यही कारण मुख्यमन्त्री चयनलाई लिएर पार्टीभित्र राजनीतिक छलफल र समन्वय तीव्र बनेको छ।
बागमती प्रदेशसभामा एमालेका २५ सांसद रहेका छन्। मुख्यमन्त्रीका आकांक्षी नेताहरूले पार्टी नेतृत्वसँग निरन्तर छलफल, भेटघाट र समन्वयलाई अघि बढाइरहेका छन्।
एमाले स्रोतका अनुसार मुख्यमन्त्रीको नाम शीर्ष नेतृत्वको निर्णयपछि औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij