२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यको तटीय क्षेत्रमा एउटा समुद्री विमान आकस्मिक अवतरणपछि आगलागी भएको छ । विमानमा सवार सबै ११ जनाको सकुशल उद्धार गरिएको छ ।
अमेरिकी कोस्ट गार्डका अनुसार केनमोर एयरको उक्त विमान सान जुआन टापु समूहअन्तर्गत सुसिया टापुनजिकको नर्थ बीच शालो बे क्षेत्रमा आपत्कालीन अवतरण गरेको थियो । अवतरण लगत्तै विमानमा आगलागी भएको थियो ।
विमानमा एक जना पाइलट र १० जना यात्रु सवार थिए । दुर्घटनापछि अमेरिकी कोस्ट गार्ड, अमेरिकी नौसेना, क्यानडाली कोस्ट गार्ड तथा स्थानीय निकायले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए ।
उद्धार गरिएका यात्रुमध्ये चार जनालाई गम्भीर चोटपटक लागेकाले अस्पताल भर्ना गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको टाउकोमा चोट, हड्डी भाँचिएको तथा शरीरमा गहिरा घाउ लागेको छ ।
दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन । केनमोर एयरका अनुसार उक्त फ्लोटप्लेन सियाटलस्थित लेक युनियनबाट साँझ ४ः३० बजे उडेको थियो र करिब १०० माइल टाढाको रोश हार्बरतर्फ जाँदै गर्दा उडान भरेको करिब ४५ मिनेटपछि दुर्घटनामा परेको हो ।
दुर्घटनाको अनुसन्धानमा सम्बन्धित निकायसँग पूर्ण सहयोग गरिरहेको र पुष्टि भएका जानकारी क्रमशः सार्वजनिक गरिने उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij