२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । अभिनेता नाजिर हुसेनले आफ्नो नामकै आधारमा भारतको दिल्ली विमानस्थलमा दोस्रोपटक सुरक्षा जाँचका क्रममा विशेष सोधपुछमा परेको अनुभव सार्वजनिक गरेका छन्।
फिल्म गुन्यु चोलोको प्रदर्शनका लागि नयाँ दिल्ली पुगेका नाजिर काठमाडौं फर्किने क्रममा विमानस्थलमा सुरक्षा अधिकारीले उनलाई छुट्टै कक्षमा लगेर विस्तृत केरकार गरेको बताएका छन्।
उनका अनुसार सुरक्षाकर्मीले किन दिल्ली आएको, नेपाल किन फर्किन लागेको, साथमा भारतीय मुद्रा छ कि छैन लगायतका विभिन्न प्रश्न गरेका थिए। तर, उनीसँगै रहेका फिल्मका निर्देशक समुन्द्र भट्टलाई भने कुनै सोधपुछ नगरिएको उनले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै नाजिरले यो घटना पहिलोपटक नभएको बताएका छन्। उनका अनुसार नामकै कारण आफू हरेक पटक दिल्ली विमानस्थलमा रोकिने र विशेष सुरक्षा जाँचमा पर्ने गरेका छन्।
नेपाल एयरलाइन्सको विमानमा फर्किने क्रममा टेलिभिजनको गुगल म्यापमा लुम्बिनी देखेपछि मात्रै आफू ढुक्क भएको अनुभव पनि उनले साझा गरेका छन्।
नाजिरले यस्तो व्यवहार उचित नभएको उल्लेख गर्दै यदि यसका पछाडि कुनै कारण छ भने त्यसबारे स्पष्ट जानकारी पाउने आफ्नो अधिकार रहेको बताएका छन्।
उनले लेखेका छन्, “मेरो नामको कारणले म हरेक पटक रोकिन्छु र विशेष कक्षमा लगेर केरकार गरिन्छ भने यो गलत हो। यदि होइन भने, यसको कारण मैले थाहा पाउनुपर्छ। पहिलोपटक यस्तो हुँदा सामान्य लाग्यो, तर दोस्रोपटक भने ठीक लागेको छैन।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij