२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका छन् ।
विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पारेका छन् । विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गरेका छन् ।
मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेका छन्। उनले आफ्नै दल वा अन्य कुनैपनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने समेत विश्वास व्यक्त गरेका छन् ।
मन्त्री पोखरेलले भने, ‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ । अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसी ९योग्यता० का आधारमा निर्माण हुनेछ । विश्वविद्यालयमा अब कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन । कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन् । यदि कुनैपनि प्रकारको राजनीतिक दबाब आयो भने शिक्षामन्त्रालयलाई तुरुन्त जानकारी गराइदिनुहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij