२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (एनईसी) मा अध्ययनरत विद्यार्थी, प्राध्यापक (फ्याकल्टी) तथा कर्मचारीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक तथा चिकित्सक टोलीले कलेज परिसरमै स्वास्थ्य शिविर सञ्चालन गरी सयौं विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले इन्जिनियरिङ अध्ययनका लागि उत्कृष्ट शैक्षिक वातावरणसँगै विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै त्यसैलाई मध्यनजर गर्दै केएमसीसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए। उनले स्वस्थ जनशक्तिबाट मात्रै गुणस्तरीय शिक्षण–सिकाइ सम्भव हुने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
शिविरमा नाक, कान तथा घाँटी (ईएनटी), आँखा, दन्त, नसा तथा हाडजोर्नी र जनरल मेडिसिनका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए । साथै भिडियो एक्स–रे, इसिजी (ईसीजी) तथा प्याथोलोजी सेवासमेत उपलब्ध गराइएको थियो । स्वास्थ्य परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो ।
शिविरमा कलेजका सबै विभागका विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका व्यक्तिहरूलाई काठमाडौं मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट उपलब्ध गराइने केएमसीले जनाएको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थी तथा कर्मचारीहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै समय–समयमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । केही समयअघि मात्रै कलेजले निःशुल्क आँखा परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो ।
विद्यार्थी, फ्याकल्टी तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कलेजले हेल्थ डेस्क समेत स्थापना गरेको छ । कलेजले शैक्षिक उत्कृष्टतासँगै सुरक्षित, स्वस्थ र सहयोगी शैक्षिक वातावरण निर्माणलाई आफ्नो प्राथमिकताका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij