२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताएका छन्।
बुधवार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताएका हुन ।
उनले नेपाली काँग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य नै वर्तमान चुनौतीको समाधान भएको उल्लेख गरेका छन् । उनले राष्ट्रिय स्वाधीनताको प्रश्न हाल अत्यन्तै पेचिलो र संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यसको रक्षाका लागि दलहरूबीच साझा धारणा बन्नु आवश्यक रहेको उल्लेख गरेका छन्।
अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमी कमजोरी भएको स्वीकार गरेका छन् । उनले आगामी दिनमा विश्वका विभिन्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहलकदमीलाई थप सशक्त बनाउने निष्कर्षमा पार्टी पुगेको जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij