२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । शांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२\८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि गरेको जनाएको छ।
बैंकले समीक्षा अवधिमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो।
बैंकको सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ, जुन अघिल्लो वर्षको ८८ करोड ४४ लाख रुपैयाँको तुलनामा ५२.९८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको २ अर्ब ७ करोड १४ लाख रुपैयाँको तुलनामा १६.८३ प्रतिशतले वृद्धि हो।
वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको जनाएको छ।
हाल बैंकको चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ४९ करोड २३ लाख रुपैयाँ र जगेडा कोष २ अर्ब १० करोड २६ लाख रुपैयाँ पुगेको छ।
निक्षेप तथा कर्जा लगानीमा पनि बैंकले वृद्धि गरेको छ। समीक्षा अवधिमा बैंकले ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस्तै, बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २३.८३ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ १६९.५० रुपैयाँ र मूल्य–आम्दानी अनुपात १६.९५ गुणा रहेको बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij