२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय परिसरमै झडप भएको हो ।
पार्टीको केन्द्रीय अनुशासन विभागले तत्कालीन सभापति यादवलाई कारबाही गरेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । साउन ६ गते पर्ने बीपी कोइरालाको स्मृति दिवसको पूर्वतयारी स्वरूप आज पार्टी कार्यालय सरसफाइ गर्न भट्ट समूहका समर्थकहरू पुगेपछि दुई पक्षबिच विवाद र नाराबाजी सुरु भएको थियो ।
कार्यवाहक सभापति भट्टले पार्टीको निर्णय र नेता गगन थापाको निर्देशनअनुसार आफूले जिम्मेवारी पाएको बताए । यता, निवर्तमान सभापति राजेश राय यादवसँग यस विषयमा बुझ्न खोज्दा आफू अहिले छलफलमा रहेकाले पछि मात्र कुरा गर्ने बताए ।
पार्टी कार्यालयमा प्रवेश गर्न रोकिएपछि दुवै समूहबिच धकेलाधकेल र ढुङ्गामुढासमेत भएको थियो । झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएका छन् । स्थिति तनावपूर्ण बन्दा समेत स्थानीय प्रशासन मूकदर्शक बनेको प्रत्यक्षदर्शीहरूले आरोप लगाएका छन् ।
हाल विवाद समाधानका लागि पार्टी कार्यालयमा दुवै समूहबिच छलफल भइरहेको जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij