२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । पश्चिम एसियामा अमेरिका र ईरानबिच बढ्दो तनावका कारण स्ट्रेट अफ होर्मुज भएर हुने तेल ओसारपसार प्रभावित भएपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले बढेको छ। यससँगै ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारल ९० डलरभन्दा माथि पुगेको हो।
सोमबार बिहान ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य २.७७ डलर अर्थात् ३.१४ प्रतिशतले बढेर ९०.८७ डलर पुगेको छ। यो गत जुन ११ यताकै उच्च मूल्य हो। अघिल्लो साता १५.९ प्रतिशतको वृद्धिसँगै यो अप्रिलयताकै सबैभन्दा ठुलो साप्ताहिक वृद्धि बनेको थियो।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) क्रुडको मूल्य पनि २.३५ डलर अर्थात् २.८५ प्रतिशतले बढेर प्रतिब्यारल ८४.८४ डलर पुगेको छ। यो जुन १२ यताकै उच्च बिन्दु हो। अघिल्लो साता यसको मूल्य १५.५ प्रतिशतले बढेको थियो, जुन मार्चको सुरुवातपछिको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।
सप्ताहान्तमा अमेरिकाले ईरानविरुद्ध लगातार नवौँ रात आक्रमण जारी राखेको छ भने अमेरिकी सहयोगी राष्ट्रहरू कुवेत र बहराइनले थप ईरानी हमला भएको जनाएका छन्।
आएनजीका विश्लेषकहरूले सोमबार एक टिप्पणीमा भने, ‘खाडीमा तनाव कम हुने कुनै लक्षण नदेखिएपछि आज बिहान आइस ब्रेन्ट प्रतिब्यारल ९० डलरभन्दा माथि पुगेको छ।’
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सोमबार दुईवटा तेल ट्याङ्करहरूमा विस्फोट भएको र तिनको आवतजावत ठप्प भएको जनाएको छ। स्ट्रेट अफ होर्मुजको असुरक्षित दक्षिणी मार्ग प्रयोग गर्ने प्रयास गर्दा ती ट्याङ्करमा क्षति पुगेको र उनीहरूलाई अमेरिकी सेनाले त्यो बाटो प्रयोग गर्न उक्साएको आरोप ईरानको छ।
युनाइटेड किङडम म्यारिटाइम ट्रेड अपरेसन केन्द्रका अनुसार सोमबार बिहान ओमानको कुमजार उत्तर(पश्चिममा एउटा जहाजमा आगो लागेको थियो।
एलएसइजी तथ्याङ्क अनुसार अघिल्लो दिन आठवटा जहाजले स्ट्रेट अफ होर्मुज पार गरेकोमा आइतबार भने जम्मा चारवटा जहाजले मात्र पार गरेका छन्। तथ्याङ्क अनुसार शुक्रबारदेखि कम्तीमा तीनवटा तेल उत्पादन ट्याङ्कर र एउटा ठुलो कच्चा तेल वाहक जहाज तेल लोड गर्न जलमार्गमा प्रवेश गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij