२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने पक्षमा नदेखिएको छ। सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको केन्द्रीय नेतृत्वबाट आधिकारिक निर्देशन नआएसम्म सरकारमै रहने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले सरकार छाड्ने सम्बन्धमा पार्टीबाट कुनै औपचारिक निर्णय वा निर्देशन प्राप्त नभएको बताए। सञ्चारमाध्यममा आएका मन्त्रीहरूको सम्भावित राजीनामासम्बन्धी समाचार सत्य नभएको उल्लेख गर्दै उनले पार्टीको आधिकारिक निर्णयअनुसार नै अघि बढिने स्पष्ट पारे।
उनका अनुसार हाल नेपाली कांग्रेससँगको गठबन्धन कायम रहेकाले एमालेका मन्त्रीहरूले तत्काल राजीनामा दिने अवस्था छैन। बदलिँदो राजनीतिक समीकरण, मन्त्रालयको जिम्मेवारी तथा बिना विभागीय मन्त्रीहरूको व्यवस्थापनलगायत विषयमा पार्टीको माथिल्लो तहमा छलफल भइरहे पनि कुनै अन्तिम निर्णय भएको छैन। यी विषयको टुंगो एक-दुई दिनभित्र लाग्न सक्ने उनले बताए।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बदलिएको राजनीतिक परिस्थितिबारे पार्टी केन्द्र र अन्य राजनीतिक दलसँग संवाद तथा परामर्शपछि मात्रै आगामी रणनीति तय गरिने बताए। तत्काल सरकारबाट बाहिरिने निर्णय नभएको र पार्टीको आधिकारिक निर्देशन आएपछि मात्र आवश्यक कदम चालिने उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij