२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सामान्यतया फिफा विश्वकपको अन्तिम चरणमा पुग्ने आफ्नै क्षेत्रका टोलीलाई समर्थन गर्ने परम्परा ल्याटिन अमेरिकामा बलियो मानिन्छ । तर, यसपटक स्पेनविरुद्धको फाइनलअघि सामाजिक सञ्जालमा फैलिएका मिम्स, व्यंग्य र आलोचनामा एउटा फरक दृश्य देखिएको छ । धेरै ल्याटिन अमेरिकी समर्थकले अर्जेन्टिना फाइनलमा हारोस् भन्ने चाहेका जनाइएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको एउटा सम्पादित तस्बिरमा स्पेनका युवा स्टार लामिन यामाललाई ब्राजिलको जर्सी लगाएको देखाइएको छ । त्यसमा लेखिएको छ, “ब्राजिलियन जनताको आशा ।”
यो भावना ब्राजिल र अर्जेन्टिनाबीचको ऐतिहासिक फुटबल प्रतिद्वन्द्वितामा मात्र सीमित छैन । मेक्सिको, कोलम्बिया, चिलीलगायत धेरै देशका समर्थकले पनि आइतबारको फाइनलमा लियोनेल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना पराजित होस् भन्ने चाहना व्यक्त गरिरहेका छन् ।
यस्तै अवस्था सन् २०२२ को कतार विश्वकपअघि पनि देखिएको थियो । अर्जेन्टिनाप्रतिको क्षेत्रीय ऐक्यबद्धता अहिले कमजोर हुँदै गएको कोलम्बियाली समाजशास्त्री जर्मन गोमेजको टिप्पणी छ ।
उनका अनुसार, सामाजिक सञ्जालले अर्जेन्टिनालाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोको ‘विशेष प्रिय टोली’ भएको भन्ने धारणा अझ बलियो बनाएको छ ।
ब्राजिलका ४२ वर्षीय फुटबल समर्थक फ्रान्सिस्को सान्तोसले भने, “अर्जेन्टिनाले रेफ्रीबाट धेरै सहयोग पाउँछ । यदि, ब्राजिलले छैटौँ विश्वकप जित्न सक्दैन भने अर्जेन्टिना चौथोपल्ट च्याम्पियन बनेको हेर्नुभन्दा स्पेन दोस्रोचोटि च्याम्पियन बनेको हेर्न चाहन्छु ।”
धेरै आलोचकले अर्जेन्टिनाले पेनाल्टी, पहेँलो वा रातो कार्डजस्ता निर्णयमा तुलनात्मक रूपमा बढी अनुकूलता पाउने गरेको आरोप लगाउने गरेका छन् । यद्यपि, फिफा र अधिकांश विश्लेषकले ती निर्णय नियमानुसार भएको बताउँदै आएका छन् ।
कोलम्बियाको बोगोटाका २८ वर्षीय जुआन क्यामिलो अबुसैदले भने, “हामी स्पेनलाई समर्थन गर्नेछौँ ।”
राजनीतिक प्रभाव
मेक्सिको सिटीका ५१ वर्षीय प्रहरी अधिकारी एन्टोनियो लोपेजले मेसीलाई महान् खेलाडी माने पनि रेफ्रीको सहयोगले जित हासिल गरेको भन्ने धारणा स्वीकार गर्न नसक्ने बताए ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले एक पत्रकार सम्मेलनमा पत्रकारहरूलाई ‘फाइनलमा कसलाई समर्थन गर्दै हुनुहुन्छ ?’ भनेर सोध्दा अधिकांशले एकै स्वरमा ‘स्पेन’ भनेर जवाफ दिएका थिए ।
यसपालिको विश्वकप खेलकुदभन्दा पनि धेरै राजनीतिक बनेको मेक्सिकोका खेल समाजशास्त्री जर्ज नेग्रो टिप्पणी गर्छन् ।
समाजशास्त्री गोमेजका अनुसार, डिएगो म्याराडोनालाई फिफाविरुद्ध बोल्ने विद्रोही व्यक्तित्वका रूपमा हेरिन्थ्यो । अहिले मेसीलाई फिफाको ‘सुनौलो केटो’का रूपमा चित्रण गरिन्छ ।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईप्रतिको असन्तुष्टिले पनि केही देशका समर्थकलाई त्यो टिमको विपक्षमा उभ्याएको छ । चिलीका २९ वर्षीय रासिद सज बर्गले भने, “यदि, अर्जेन्टिनाले जिते मिलेईले त्यसलाई राजनीतिक रूपमा उपयोग गर्नेछन्, त्यो मलाई मन पर्दैन ।”
रंगभेदका आरोप पनि
अर्जेन्टिनी समर्थक र केही खेलाडी विगतमा रंगभेदी व्यवहारका आरोपमा विवादमा परेका छन् । फ्रान्सका अश्वेत खेलाडीलक्षित गाइएको गीतदेखि क्लब फुटबलमा ब्राजिलियन समर्थक वा अश्वेत खेलाडीमाथि गरिएका अपमानजनक व्यवहारसम्मका घटनाले पनि अर्जेन्टिनाको छविमा असर पारेको छ ।
जारी विश्वकपकै क्रममा एक अर्जेन्टिनी समर्थकले अमेरिकी स्ट्रिमर इस्वो स्पिडलाई लाइभ प्रसारणका बेला रंगभेदी टिप्पणी गरेका थिए । फिफाले त्यसको कडा निन्दा गरेको थियो ।
‘हामी असह्य छौँ’
मेसीले पनि आफ्नो टोलीप्रति हुने मिश्रित प्रतिक्रियाबारे टिप्पणी गर्दै भनेका छन्, “चार वर्षअघि हामीले आफ्नो लक्ष्य पूरा गर्यौं । फेरि पनि हामी विश्वका उत्कृष्ट टोलीमध्ये एक भएको प्रमाणित गरेका छौँ । यसले कसैलाई चित्त दुख्छ भने त्यो उनीहरूको कुरा हो ।”
अर्जेन्टिनामा लोकप्रिय फर्नेट मदिराको एक ब्रान्डले पनि ‘हामी असह्य छौँ’ भन्ने नारासहित विज्ञापन सार्वजनिक गरेको छ । विभिन्न देशका टिम मन पराउनेहरूले अर्जेन्टिनी फुटबल समर्थकको अत्यधिक उत्साहबारे गुनासो गरिरहेको व्यंग्यात्मक दृश्य त्यो ब्रान्डले प्रस्तुत गरेको जनाइएको छ ।
यद्यपि, सबै ल्याटिन अमेरिकी समर्थक अर्जेन्टिनाको विपक्षमा छैनन् । पेरुको राजधानी लिमाका २० वर्षीय विद्यार्थी भ्यालेन्टिनो तोक्तोले भने, “म अर्जेन्टिनालाई समर्थन गर्नेछु, किनभने यो पनि दक्षिण अमेरिकाकै एउटा देश हो ।” अलजजिराबाट ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij