Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना भएको दाबी

केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना भएको दाबी


  • 1.2K
    Shares

    केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना भएको दाबी
    images

    काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विनाचिरफार सफल उपचार गरेको छ । कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो । 

    पहिलेदेखि नै कलेजोको दीर्घकालीन रोगबाट पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल अचानक बेहोस भएपछि उनलाई उपचारका लागि केएमसीको आकस्मिक कक्षमा पु¥याइएको थियो । अस्पतालमा गरिएको सीटी स्क्यानमा उनको मस्तिष्कको असामान्य स्थानमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएको थियो । रक्तस्रावको प्रकृति जटिल भएकाले वास्तविक कारण पत्ता लगाउन अस्पतालको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा ‘डीएसए एन्जियोग्राफी’ परीक्षण गरियो । 

    न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको उक्त परीक्षणबाट कँडेलको मस्तिष्कमा रगत पु¥याउने धमनी र फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो (एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भयो । उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो ।

    चिकित्सकहरूकाअनुसार एभीएम एक दुर्लभ जन्मजात विकृति हो, जुन सामान्यतया युवावस्थामै देखिने वा फुट्ने गर्दछ । ६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नुलाई अत्यन्त दुर्लभ र उच्च जोखिमपूर्ण मानिन्छ । बिरामीको अवस्थालाई दृष्टिगत गर्दै चिकित्सकहरूले परम्परागत शल्यक्रिया (टाउको खोल्ने विध) को सट्टा न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि अपनाएका थिए । 

    यस प्रक्रियामा तिघ्राको रक्तनलीबाट एउटा सानो क्याथेटर मस्तिष्कसम्म पु¥याएर स्टेन्ट र बेलुनको सहयोगले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरियो । जटिल उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । 

    उपचारमा संलग्न डा. अरुण पौडेलकाअनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक मात्र नमानी विशेषज्ञद्वारा सुक्ष्म मूल्याङ्कन गराउनु आवश्यक हुन्छ । समयमै सही पहिचान र आधुनिक प्रविधिको प्रयोगले यस्ता गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन सकिने उनले बताए। 

    उपचारपछि पूर्ण रूपमा निको हुनुभएका हरिप्रसाद कँडेल र उनका परिवारले सफल उपचारका लागि चिकित्सक टोलीप्रति आभार व्यक्त गरे । नेपाली काँग्रेसका नेता डा।सुनिल शर्माद्वारा सञ्चालित केएमसीले यस उपलब्धिलाई नेपालको चिकित्सा इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिएको छ ।  

    images
    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १३:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij