२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन्।
बजेट पारित गर्ने विषयमा लामो समयदेखि जारी गतिरोध अन्त्य हुन नसकेपछि मुख्यमन्त्री शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्ने ठोस कदम चालेका हुन्।
बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन्।
मुख्यमन्त्री शाह बजेट विवाद सुल्झाउन केन्द्रका शीर्ष नेताहरूसँग उच्चस्तरीय छलफल गरेर बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए। आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा सुदूरपश्चिम सरकार र एमालेबीच नीतिगत सहमति जुट्न सकेको थिएन।
एमालेले बजेटको विपक्षमा उभिने संकेत गरेपछि मुख्यमन्त्री शाहले सरकार जोगाउन र बजेट अघि बढाउन एमालेका मन्त्रीहरूलाई हटाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ। मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई बर्खास्त गरेको औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij